नारायणीले चेतावनीको तह पार गर्यो, गण्डक खतराको सूचक नजिक, सुस्ता डुबानमा (भिडियोसहित)

बोमलाल गिरी
नवलपुर, असोज १० गते । लगातारको वर्षाले नारायणी नदीमा बाढीले खतराको तह पार गरेको छ । शनिवार बिहान ९ देवघाट जलमापन केन्द्रको विवरणअनुसार तीन लाख ४८ हजार क्युसेक अर्थात ८.७ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीमा पानीको बहाव बढेपछि नवलपुरको कावासोती–१७ अमलटारी डुबानमा परेको छ । पानीको सतह बढ्दै गएकाले थप डुबान हुन सक्ने वडाध्यक्ष चुडामणी थनेतले बताए । ‘‘अहिलेसम्म सामान्य डुबान छ, यसरी नै पानीको बहाव बढ्ने हो भने डुबानले खतराको तह पार गर्न सक्छ,’’ अध्यक्ष थनेतले भने । उनका अनुसार यहाँ होमस्टेमा आएका पाहुनाहरुलाई स्थानान्तरण गरिएको छ भने स्थानीय घरको छतमा गएर बसेका छन् ।

नारायणीमा पानीको बहाब तिब्र गतिमा बढ्दै गएपछि गण्डक ब्यारेका सबै ३६ वटै ढोका खोलिएको छ । गण्डक ब्यारेजमा बिहान ९ बजे २ लाख ७३ हजार ६०० क्युसेक पानी मापन भएको छ । तर यहाँ पानीले खतराको तह भने पार नगरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटरभन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलेको हो । लगातारको वर्षाले गण्डकमा नदीको सतह बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो । गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ ।

निरन्तरको वर्षाले नवलपरासीको सुस्तामा नारायणी नदीको बाढीले बस्ती डुवानमा परेका छन् । सुस्ता प्रहरी चौकीका प्रहरी हवल्दार रविन्द्र यादवका अनुसार सुस्ता–५ को थारु टोल, सैनिक टोल, पहाडी टोल, बड्का टोल डुबानमा परेका हुन् । यहाँ पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयलाई होल्डिङ सेन्टरमा राखिएको उनले जानकारी दिए ।

यादवका अनुसार पहाडी टोलका झण्डै २०० जनालाई स्थानीय विद्यालयमा र अन्य टोलका झण्डै दुई सय ५० जनालाई विपद् व्यवस्थापनको भवनमा राखिएको छ । पानीको सतह बढेमा उद्धारका लागि १० वटा डुंगा तयारी अवस्थामा राखिएको प्रहरी हवल्दार यादवले बताए ।

नारायणीको जलाधार क्षेत्रका त्रिशूली, मस्र्याङ्दी, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढीले चेतावनीको तह पार गरेको छ । तल्लो तटिय क्षेत्र र नदी आसपास डुबान भईरहने होचा ठाउँका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हेर्नुहोस् भिडियो