नवलपुर, असोज ८ गते । नवलपुरका स्थानीय पालिकाहरुले भोलि शुक्रबार सबै नीजि तथा सरकारी विद्यालयलाई सार्वजनिक विदा दिएका छन् । गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा बौदीकाली गाउँपालिकाले विज्ञप्ती निकालेर विदा दिएको जानकारी दिएका हुन् ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरुको पूर्वानुमान अुनसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा, हावाहुरी, चट्याङ पर्ने सम्भावना रहेकाले विद्यालय विदा गर्ने निर्णय गरेको पालिकाहरुले जनाएका छन् ।
उक्त विदा पछि पछि प्रदान गरिने विदासँग समायोजन गरिने बताइएको छ । साथै सबै विद्यार्थी, शिक्षक तथा नगरवासीलाई सम्भावित विपद्को जोखिमबाट सुरक्षित रहन तथा अभिभावकहरुले बालबालिकालाई सम्भावित जोखिमयुक्त स्थानमा जान नदिइ सुरक्षित स्थानमा राख्न पनि सम्बन्धित पालिकाहरुले आग्रह गरेका छन् ।
पालिकाहरुले कुनै विपद् वा समस्या आएमा तत्काल नजिकको प्रहरी कार्यालय, गाउँपालिका तथा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेका छन् । शिक्षा तथा खेलकुद् मन्त्रालयले समेत आवश्यकता अनुसार विद्यालय विदा गर्न गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।









