नारायणीको डुबानमा परेका चार सय ६१ जनालाई सुरक्षित स्थानमा सारियो

नवलपुर, असोज ११ गते । तीन दिनदेखिको निरन्तर वर्षाका कारण नारायणी नदीले डुबान गरेको नवलपुरका विभिन्न स्थानबाट चार सय ६१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

गैँडाकोट नगरपालिका–२ बोटे टोलमा डुबानमा परेको एक सय १० घरधुरीका चार सय जनालाई प्रहरी टोली र स्थानीयको सहयोगमा नजिकै रहेको महेन्द्र आधारभूत विद्यालय तथा केहीलाई आफन्तहरुको घरमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी यपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बोटे टोलबाट शनिवार एक सय १४ जनालाई स्थानान्तरण गरेर छिमेकीहरुको घरमा राखिएको थियो । अहिले पनि सरसामान सुरक्षित स्थानमा सार्ने काम भइरहेको र मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मध्यविन्दु नगरपालिका–२ भुताहामा पनि नारायणी नदीको भेल बस्तीमा पसेर डुबान हुँदा त्यहाँ बसोबास गर्ने १७ घरधुरीका ६१ जनाको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

उनीहरूलाई नजिकै रहेको लिटिल फ्लावर बोर्डिङ स्कुल तथा आफन्तहरूको घरमा व्यवस्थापन गरिएको खड्काले जानकारी दिए ।

यस क्षेत्रमा तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । नारायणी नदीले खतराको तह पार गरेर उच्च तहमा पुगेको छ । यो समाचार तयार पार्दासम्म चितवनको देवघाट जलमापन केन्द्रमा पानीको तह १० मिटरभन्दा माथि पुगेको छ । त्यहाँ हाल पानीको जनसतह १०.८९४ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।