बोमलाल गिरी
देशकै लामो, फराकिलो र नयाँ नारायणघाट–बुटवल सडकखण्ड विस्तारको अन्तिम चरणमा पुगेको छ । सडक आयोजनाका अनुसार झण्डै ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ । अहिले सडकमा रङरोगन गर्ने, बिरुवा र दुबो रोप्ने, जेब्रा क्रसिङ बनाउने तथा गति सीमा (स्पिड लिमिट) का बोर्ड राख्ने काम भइरहेको छ ।
जंगल क्षेत्रमा सवारीसाधनको गति प्रतिघण्टा अधिकतम ४० किलोमिटर तोकिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, सामुदायिक वन तथा घना जंगल रहेको क्षेत्रमा ४० किलोमिटरभन्दा बढी गतिमा सवारीसाधन चलाउन पाइँदैन । त्यसका लागि ट्राफिक प्रहरीले बेला–बेलामा ‘राडार गन’ (सवारीसाधनको गति मापन गर्ने यन्त्र) मार्फत सवारीसाधनको गति नियमन गर्दै आएको छ ।
त्यस्तै, बजार क्षेत्रमा अवस्थाअनुसार अधिकतम ६०, दाउन्ने क्षेत्रमा ४० र अन्य स्थानमा सडकको अवस्था तथा सवारीसाधनको चाप हेरेर अधिकतम ८० किलोमिटर प्रतिघण्टासम्मको गति सीमा तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले बताए ।
त्यसैगरी, बजार क्षेत्र तथा राजमार्ग वारपार गर्ने स्थानमा प्रतिघण्टा ६० किलोमिटरको गति सीमा कायम गरिएको छ । जंगल क्षेत्र खुला भए पनि गति सीमा किन तोकिएको होला त ? प्रहरी निरीक्षक बर्तौलाका अनुसार जंगलमा वन्यजन्तुको आवतजावत हुने भएकाले उनीहरूको सुरक्षालाई ध्यान दिँदै गति सीमा निर्धारण गरिएको हो ।
तर एसियाली राजमार्गका रूपमा विस्तार गरिएको यो सडकमा वन्यजन्तुका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको संरचना भने पर्याप्त देखिँदैन । अन्तर्राष्ट्रिय मान्यताअनुसार घना जंगलमा वन्यजन्तुको ओहोरदोहोर हुने स्थानमा ‘अन्डरपास’ र ‘ओभरहेड ब्रिज’ निर्माण गर्नुपर्ने हुन्छ । तर, ११४ किलोमिटर सडकमा त्यस्तो संरचना निर्माण गरिएको छैन ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक इन्जिनियर चुडाराज ढकालले वन्यजन्तुका लागि अन्डरपास र ओभरहेड ब्रिज बनाउने विषय सम्झौतामा उल्लेख नभएको बताए । पछि थप संरचना निर्माण गर्न आग्रह गर्दा चिनियाँ ठेकेदार कम्पनीले लागत बढ्ने भन्दै नमानेको उनको भनाइ छ । तर, ४३ वटा पुलमा सामान्य सुधार गरी साना वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने व्यवस्था गरिएको उनले दाबी गरे ।
आयोजना निर्देशक ढकालले ठुला वन्यजन्तु सडकको तलबाट र साना वन्यजन्तु सडकको माथिबाट आवतजावत गर्ने व्यवस्था रहेकाले अब जंगललाई मात्र प्राथमिकता दिन नपर्ने तर्क गरे । ‘‘बाँदर, बँदेललगायतका वन्यजन्तुकै कारण कतिपय ठाउँबाट बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आएको छ । त्यसैले अब पुरानो सोचलाई पुनर्विचार गर्नुपर्छ, किनकि यसले गरिबी र बेरोजगारी झन् बढाउँछ,’’ ढकालले भने ।
यति हुँदाहुँदै पनि गैँडाकोटको पितौँजी जंगलमा बाँदरलाई ओहोरदोहोर गर्न सहज होस् भनेर एउटा आकाशे पुल निर्माण गरिएको छ । नारायणघाट–बुटवल सडकको मुख्य बजार क्षेत्रमा छ लेन, अन्य क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भएको छ ।









