नवलपुर, साउन २५ गते । नवलपुरको कावासोती–११ कुढौली सडकको बीचमै जिर्ण अवस्थामा रहेको रहेको विजुलीको पोल फेरिएको छ । जोखिममा रहेको पोल लामो समयसम्म पनि मर्मत तथा परिवर्तन नगर्दा स्थानीयमा त्रास पैदा गरेको भन्दै समाचार सेवाले साउन २२ गते समाचार छापेको थियो ।
भदौसम्ममा मात्र पोल परिवर्तन गर्न सकिने बताएको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले समाचार छापेको तीन दिन भित्रै पोल परिवर्तन गरेको हो । पुरानो पोलको ठाउँमा नयाँ पोल गाडिए पनि लाइन परिवर्तन भने गरिएको छैन । नयाँ पोलमा लाइन विस्तार गर्न समय लाग्ने भएकाले बिदाको दिन पारेर काम गर्ने वितरण केन्द्रका प्रमुख शिव नारायण गोसालीले बताए ।
बस्तीमा जोखिम रहेकाले हतार हतार काम गरिएको उहाँको भनाइ छ । ‘‘२०५१ सालमा गाडेको फलामको पोल मक्किएर प्वाल परिसकेको थियो, त्यसमाथि गाडीले ठक्कर दिएपछि पुरै बागिएकाले हावा लाग्दा वा पानी पर्दा पनि कुनै पनि बेला ढल्न सक्ने जोखिम रहेको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताए ।
पोल ठोक्ने गाडीका चालक भने सम्पर्कविहिन रहेको गोसालीको भनाइ छ । अध्यक्ष अधिकारीका अनुसार डेढ महिना अघि साबुन बेच्ने गाडीले ठक्कर दिएर पोल बङग्याएको थियो ।
यस्तो थियो विजुलीको पोल









