नवलपुर, साउन २२ गते । नवलपुरको कावासोतीमा रहेको कावासोती साइक्लिङ समूहको तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। कावासोतीस्थित पानस बैंक्वेटमा शुक्रबार आयोजित अधिवेशनले ३ बर्षका लागि अजय श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा यज्ञबहादुर जिसी, सचिवमा फणिन्द्र थापा मगर, सहसचिवमा श्यामप्रसाद लम्साल तथा कोषाध्यक्षमा मदन थापा क्षेत्री चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा बुद्धिराम बस्नेत, पिपाराम सुनार, सागर कुँवर, रूपा काफ्ले, गणेश पाण्डे, ‘रोहित’, राजु सदाशंकर, खड्गबहादुर श्रेष्ठ र राजु सुवेदी चयन भएका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष अजय श्रेष्ठले साइक्लिङलाई स्वस्थ जीवनशैलीसँग जोड्दै यसको प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका गतिविधिलाई अझ प्रभावकारी ढंगले अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थाको उद्देश्यअनुसार कावासोतीसहित नवलपुरमा साइक्लिङ संस्कृतिको विस्तार गर्दै युवापुस्तालाई नियमित व्यायाम र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने योजनाका साथ काम गर्ने बताए।
कार्यक्रममा कोषाध्यक्ष मदन थापा क्षेत्री प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र संस्थाको सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। समूहका अनुसार हाल संस्थामा १०३ जना सदस्य आबद्ध रहेका छन्। साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालमा साइक्लिङलाई खेल, स्वास्थ्य, पर्यटन र वातावरण संरक्षणसँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।









