नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने

नवलपुर, साउन १५ गते । नवलपुर जिल्लामा पहिलो पटक लगानी सम्मेलन आयोजना गरिने भएको छ । जिल्लास्थित उद्योग वाणिज्य संघहरू तथा सरोकारवालाको संयुक्त बैठकले ‘प्रथम नवलपुर लगानी सम्मेलन’ आयोजना गर्ने निर्णय गरेको हो ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलका अनुसार सम्मेलनको मिति अझै तय नभए पनि चालु आर्थिक वर्षभित्रै सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले साउन ३० गतेभित्र सम्मेलनको अवधारणा तथा प्रस्तावना तयार गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डासुराज पोख्रेल, निवर्तमान अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रेशम सापकोटा, मध्यविन्दु उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष केदार पराजुली, सहज संस्थाका पूर्वअध्यक्ष करुणसागर सुवेदी लगायत विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

साथै भदौ १५ गतेभित्र स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्था तथा निजी क्षेत्रका विभिन्न संघ–संस्थासँग छलफल गर्ने निर्णय भएको मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिए ।

भारतसँगको सहज व्यापारिक पहुँच, त्रिवेणी भन्सार कार्यालय, पूर्व–पश्चिम राजमार्ग, निर्माणाधीन नारायणगढ–बुटवल सडक, पर्याप्त विद्युत् आपूर्ति तथा लगानीमैत्री वातावरणका कारण जिल्लालाई औद्योगिक विकासको केन्द्रका रूपमा अघि बढाउन लगानी सम्मेलन गर्न आवश्यक ठहर गरिएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालले बताए ।
सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, वित्तीय संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, पर्यटन व्यवसायी, विकास साझेदार तथा उद्यमीहरूको सहभागिता गराइने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले बताउनुभयो । सम्मेलनमार्फत लगानीका अवसरहरूको प्रस्तुतीकरण, नीतिगत संवाद, परियोजना प्रदर्शनी तथा लगानी साझेदारीका आधार निर्माण गरिने पोख्रेलको भनाइ छ ।

यसैबीच, बैठकले हरेक शुक्रबार हुँदै आएको साप्ताहिक बजार बन्दलाई आगामी चाडपर्वलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि हरितालिका (ठूली) एकादशीसम्म बजार खुला राख्ने निर्णय गरेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव रमेश अधिकारीले जानकारी दिए ।

त्यसैगरी, बैठकले हाल सुनसरीसहित तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम तथा तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।