नारायणीमा माछा मार्न जाँदा फसेका दुई जनाको उद्धार, एक वेपत्ता

नवलपुर, साउन १५ गते । नारायणी नदीमा माछा मार्न जाने क्रममा अलपत्र परेका दुई जनाको सकुशल उद्दार गरिएको छ । एक जना नदीमा बगेर बेपत्ता भएका छन्।

​शुक्रबार दिउँसो करिब ५ बजे नवलपुरको गैँडाकोट नगरपालिका–१, ब्रिटिस क्याम्प अगाडि नारायणी नदी पौडेर तर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

३ जनाको समूहमा रहेका उहाँहरूमध्ये दुई जना नदीको बीच भागमा रहेको सुक्खा जमिन (टापु) मा अलपत्र परेकाो अवस्थामा उद्धार गरिएको र एक जनालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

​घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी सहायक निरीक्षक प्रदिप लम्सालको कमाण्डमा ४ जना र सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म भेडाबारीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा १० जनाको टोली खटिएको थियो ।

सुरक्षाकर्मीको टोलीले नदीको बीचमा फसेका तनहुँ भानु–५ घर भई हाल गैँडाकोट–१ बस्ने २९ वर्षीय सुदिप दर्लामी मगर र चितवन भरतपुर–१० का ४९ वर्षीय राजकुमार बिकलाई सकुशल उद्दार गरेको पण्डितले जानकारी दिनुभयो ।

​नदीमा बगेर बेपत्ता भएका चितवन भरतपुर–२ का ४७ वर्षीय हरी नारायण श्रेष्ठको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।