हिंसा रोकौँ, सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाऔँ

राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, राजनीतिक दल, नागरिक समाज र सुरक्षा निकायले सुनसरीको देवानगन्जलगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भादव र राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन्।

राष्ट्रपति पौडेलसहितले बिहीबार एक अपिल जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न अपिल गरे। उनले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन र शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गरे।

यस्तै घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत रहन पनि आग्रह गरे।

प्रधानमन्त्री वालेन्द्र शाहले धैर्य र संयम अपनाएर शान्ति तथा सद्भातव कायम गर्न अपिल गरे। बिहीबार राति पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आगामी दिनमा राज्य थप सतर्क र सम्वेदनशील रहने प्रतिबद्धता पनि जनाए।

सुनसरी, धनुषा, सिरहालगायतका जिल्लामा तनाव फैलँदा पनि सरकारका तर्फबाट केही सम्बोधन नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेका थिए। प्रधानमन्त्रीले सुनसरीको देवानगन्ज, सिरहालगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता पनि जनाए।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न छानबिन समिति बनाइसकिएको र दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउने प्रतिबद्धतासमेत जनाए। अवस्था थप नबिग्रियोस् भनेर सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति सुरक्षा थप सुदृढ पार्न गृहमन्त्री घटनास्थल पुगिसकेको पनि बताए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गरिन्। सुनसरी, सिरहालगायत जिल्लाहरुमा भइरहेको हिंसात्मक घटनाप्रति दुस्ख व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको पक्षमा उभिन अपिल गरिन्। संकटको यो अवस्थामा दलहरुले लिएको अग्रसरतालाई उनले स्वागत गरिन्।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि देशका विभिन्न स्थानमा भइरहेका घटनालाई जटिल हुन नदिन नागरिक, राजनीतिक दल र सरोकारवालाहरुलाई सामाजिक सद्भाव र एकता कायम गर्न आग्रह गरे। उनले हिंसा रोकेर संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरे।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी सद्भाेव कायम राख्न सबैलाई अपिल गरे। शाहले विज्ञप्ति जारी गरी सुनसरी घटनापछि आपसी द्वन्द्व बढेकोमा आफूलाई दुस्ख लागेको भन्दै समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रुपमा परिचित नेपालमा यस प्रकारका घटना, दुर्घटना हुनु चिन्ताको विषय भएको उल्लेख गरे।

मधेशकेन्द्रित दलहरूले सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साम्प्रदायिक तनावपछि राज्यका निकायले संयमित र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

पाँचौँ दिनसम्म पनि मधेश अशान्त रहँदा प्रधानमन्त्री मौन बसेको र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएको उनीहरूको भनाइ छ। यसले घटनालाई झन् उग्र बनाएको उनीहरूको आरोप छ।

संयुक्त विज्ञप्ति जारी गर्नेमा जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी, संविधानसभा सदस्य रामकुमार शर्मा छन्।

उज्यालो नेपाल पार्टीले पनि मधेशका जिल्लाहरुमा सर्वपक्षीय संवाद गरी सामाजिक सद्भा्व कायम गर्न आग्रह गरेको छ।

नागरिक अगुवाहरुले पनि राजनीतिक दल, धार्मिक संगठन र जनप्रतिनिधिलगायत सबै मिलेर सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्ने बताएका छन्।

यस्तै जेनजी अगुवाहरु रक्षा बम, माजिद अन्सारी र रामजी रामलगायतले पनि सामाजिक सद्भामव कायम गर्न अपिल गरेका छन्।

यसैबीच, नेपाल बार एसोसिएसनले सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन अध्ययन समिति गठन गरेको छ। बार उपाध्यक्ष पदमप्रसाद लिम्बूको संयोजकत्वमा गठित नागरिकस्तरीय अध्ययन समितिले घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन पेस गर्ने बारले जनाएको छ।

यस्तै उद्योग वाणिज्य महासंघले जुनसुकै मतभेद वा असमझदारीको समाधान केवल वार्ता, संवाद र आपसी समझदारीबाट मात्र हुने जनाएको छ। महासंघले कुनै पनि बहानामा हुने सामाजिक अशान्ति झडप हिंसा र मुडभडले कसैको हित नगर्ने भएकाले सामाजिक सद्भाव कायम गर्न अपिल गरेको हो।

यस्तै नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले पनि  विभिन्न भागमा देखिएको साम्प्रदायिक तनावसँगै सामाजिक सञ्जालमा उत्तेजक सामग्री फैलिएपछि नागरिकहरूलाई संयमित रहन अपिल गरेका छन्। शुक्रबार एक भिडियो सन्देश जारी गर्दै महानिरीक्षक कार्कीले नेपालको विविधतामा एकताको गौरवमय इतिहास स्मरण गराउँदै पछिल्ला घटनाले सामाजिक सद्भाव बिथोल्न खोजेको विश्लेषण गरेका छन्।

सुनसरीको देवानगन्ज गाउँपालिकामा गत आइतबार भएको घटनालगत्तै सरकारले गर्नैपर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ।