मोहनडाँडाको स्वास्थ्यसेवा पहुँचभन्दा धेरै टाढा (भिडियो रिपोर्ट)

नवलपुर, साउन १३ गते । गाउँमा स्वास्थ्य चौकी छैन, न त औषधि पसल नै । घरमा सिटामोल पनि छैन । बाहिर मुसलधारे पानी परिरहेको छ । सडक हिलाम्मे छ । ठाउँ–ठाउँमा पहिरो खसेको छ । गाउँसम्म गाडी आउँदैन । कोही बिरामी परेमा आफन्तहरू मिलेर बिरामीलाई डोकोमा बोकी झण्डै तीन घण्टाको पैदल यात्रा सुरु गर्छन् । एउटा सामान्य ज्वरोले पनि यहाँका बासिन्दालाई यस्तै कठिन परीक्षा दिन बाध्य बनाउँछ ।

यो नवलपुरको हुप्सेकोट गाउँपालिका–२ मा पर्ने मोहनडाँडाका बासिन्दाको बाध्यता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो गाउँ विकासका आधारभूत पूर्वाधारबाट भने पछाडि छ । गाउँमा बिजुली पुगेको छ, खानेपानी छ, तर स्वास्थ्य सेवा भने गाउँको पहुँचभन्दा धेरै टाढा छ ।

घरमा कोही सामान्य बिरामी पर्दा नजिकको बजार झ्यालबास वा गिरुबारी पुग्नुपर्छ । नियमित सार्वजनिक यातायातको सुविधा छैन । संयोगले गाडी पाइयो भने एकतर्फी भाडा १५० रुपैयाँ तिरेर यात्रा गर्नुपर्छ । सामान्य सिटामोल खान पनि बिरामीले ३०० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता बनेको छ ।

मोहनडाँडाका अधिकांश परिवार कृषि र दैनिक ज्यालादारीमा निर्भर छन् । दिनभरि पसिना बगाएर कमाएको रकमको ठूलो हिस्सा उपचारका लागि सवारी भाडामै खर्च हुन्छ । ‘‘कोही बिरामी परिहाल्यो भने पहिले खर्चको चिन्ता हुन्छ, स्थानीय रमेश सारु मगरले भने, ‘‘ औषधिको मूल्यभन्दा महँगो त गाउँबाट स्वास्थ्य संस्था पुग्ने यात्रा नै हुने गरेको छ ।’’

मोहनडाँडासम्म पुग्ने सडक अहिले पनि पूर्ण रूपमा स्तरोन्नती भएको छैन । वर्षासँगै सडक हिलाम्मे छ । कतिपय अवस्थामा पहिरो खसेर सडक एक हप्तासम्म बन्द हुन्छ । अनि गाडी चल्न बन्द भएपछि बिरामी बोक्ने एउटै विकल्प रहन्छ–डोको वा स्ट्रेचर । मगरका अनुसार कतिपय अवस्थामा गर्भवती महिला, ज्येष्ठ नागरिक र गम्भीर बिरामीलाई तीन घण्टासम्म पैदल बोकेर स्वास्थ्य संस्था पुर्याउनुपर्छ । उपचार ढिलो हुँदा सामान्य रोग पनि जटिल बन्ने जोखिम रहेको उनले बताए ।

अर्का स्थानीय अस्टमा आलेले गाउँमा स्वास्थ्य संस्था नहुँदा सबैभन्दा बढी पीडा गर्भवती र ज्येष्ठ नागरिकले भोग्नुपरेको बताउँछन् । “गर्भवतीलाई नियमित चेकजाँच गराउन, सुत्केरी गराउन र अन्य बिरामी पर्दा उपचार गर्न निकै दुःख हुन्छ । बाटो बिग्रिएको बेला बिरामी बोकेर हिँडेरै लैजानुपर्छ,’’ आलोले भने, ‘‘सामान्य औषधि खान पनि गाडी चढ्नुपर्छ, भाडा पनि महंगो छ ।”

स्थानीय मानकुमारी मस्राङी मगरले पनि सामान्य ज्वरो आए पनि औषधि लिन गाउँ छोड्नुपर्ने बाध्यता रहेको सुनाइन् ।  “बाटो निकै अप्ठ्यारो छ, बिरामी पर्दा मोटरसाइकल भएको मान्छे खोज्नुपर्छ, गाउँमा बिजुली र खानेपानी त पुगेको छ, तर उपचारका लागि धेरै दुःख सहनु परेको छ,’’ मनकुमारीले भनिन् । गाउँमा कम्तीमा एउटा स्वास्थ्य चौकी भए धेरै राहत हुने उनको भनाइ छ ।

स्थानीय हेमराज खाम्चा मगरका अनुसार मोहनडाँडा गाउँमा ३५ घरधुरीमा झण्डै दुई सय जना बसोबास गर्छन् । २०७४ सालमा यहाँ एउटा सामान्य खोप केन्द्र निर्माण गरिएको थियो । तर हाल उक्त भवन प्रयोगमा आउन सकेको छैन । संरक्षणको अभावमा खोप केन्द्र जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ । आवश्यक स्वास्थ्य सेवा सञ्चालन हुन नसक्दा उक्त संरचना अहिले उपयोगविहीन बनेको छ ।

हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले दुर्गम भूगोलका कारण सेवा प्रवाह चुनौतीपूर्ण रहेको बताए । । उनले गाउँपालिकाले महिनामा कम्तीमा एक पटक स्वास्थ्यकर्मीको टोली मोहनडाँडामा पठाउने गरेको बताए ।

तर महिनामा एक पटक पुग्ने टोलीले आकस्मिक बिरामीको समस्या समाधान गर्न नसक्ने हेमराजले बताए । स्वास्थ्य सेवा चौबीसै घण्टा आवश्यक पर्ने विषय भएकाले गाउँमै स्थायी स्वास्थ्य संस्था स्थापना गर्न स्थानीयले माग गर्दै आएपनि पूरा हुन भने सकेको छैन ।

‘‘नेपालको संविधानले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ,’’ हेमराजले भने, ‘‘तर यहाँका बासिन्दाका लागि भने त्यो अधिकार कागजमै सीमित भएको अनुभूति भएको छ ।’’