एक महिनादेखि फलामे जंजिरमा ‘रोमियो’को सन्तान ‘कृष्णप्रसाद’ (भिडियो रिपोर्ट)

बोमलाल गिरी
नवलपुर, साउन २३ गते । उमेर भर्खर २२ वर्ष पुग्यो । पेटभरी खान नपाएर होला छाला चाउरिन थालिसकेको छ । दुवै आँखा रसाईरहेका छन् । मन स्थिर छैन । अघिल्ला दुई खुट्टामा ठुला ठूला फलामे जंजिर छन् । कोही नजिक आउँदा लामो–लामो शास फेर्छ अनि खाउँला जसरी हेर्छ । पहिले दिनभरी स्वतन्त्रतापूर्वक डुलेर खाएको, अहिले कसैले टाढैबाट फालिदिएको खानुपर्ने बिवसता छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नवलपुरको दिव्यपुरी पोस्टमा रहेको भाले हात्ती ‘कृष्णप्रसाद गज’को असार २२ यताको दैनिकी यसरी नै बितिरहेको छ ।

२०६१ साल भदौ कृष्णाष्टमीका दिन खोरसोर हात्ती प्रजनन केन्द्रमा जन्मेको हुँनाले यसको नाम ‘कृष्णप्रसाद’ राखियो । २२ वर्षीय घरपालुवा भाले हात्ती कृष्णप्रसाद एक महिनादेखि फलामे साङ्लाले बाँधिएको छ । हेर्दा सजाय पाएजस्तो देखिए पनि वास्तविकता भने फरक छ । माद (मस्ट) चढेपछि आक्रामक बनेका कारण उसलाई सुरक्षाका लागि खुट्टामा साङ्लो लगाएर रुखमा बाँधेर राखिएको हो ।

कृष्णप्रसाद गत असार २२ गते गिद्देनी पोस्टबाट हराएको ‘माडी गज’ को खोजीमा कर्मचारीसँगै दिव्यपुरी पुगेको थियो । भोलिपल्ट नियमित कामका लागि साङ्लो खोल्न खोज्दा उसले आफ्नै माउते कर्मचारीमाथि नै आक्रमण ग¥यो । २२ वर्षदेखि यही हात्तीको स्याहार गर्दै आएका माउते सिकिन्दर चौधरीले धेरै सम्झाउने प्रयास गरे पनि उसले कुनै निर्देशन नमानेको बताए ।

‘‘पहिले धेरै इमान्दार थियो, भनेको सबै मान्थ्यो,’’ चौधरीले भने, ‘‘अहिले कुरै बुझ्दैन, भनेकै मान्दैन ।’’ इमान्दार हात्तीमा एकाएक परिवर्तन देखिएपछि निकुञ्जका कर्मचारीले हात्तीमा माद चढेको निष्कर्ष निकालेर साङ्लोले रुखमा बाँधेर राखेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक तीर्थ लामाका अनुसार यो समयमा हात्तीको कञ्चटबाट गाढा रस बग्ने र शरीरमा टेस्टोस्टेरोनको मात्रा धेरै बढ्ने भएकाले हात्ती झन् उत्तेजित हुन्छ । यस्तो अवस्थामा उसले पोथी हात्ती खोज्दै भौतारिने, अगाडि जे पर्छ त्यसलाई आक्रमण गर्ने तथा विध्वंस मच्चाउने व्यवहार देखाउँछ । मात आएको बेला भाले हात्तीहरू निकै चिडचिडे, आक्रामक र हिंस्रक बन्ने र यो अवधिमा लिंगबाट निरन्तरजस्तै पिसाब चुहिने लामाको भनाइ छ ।

‘‘यसको नजिक कोही जान सक्दैन । खाना खुवाउन जानसमेत मुस्किल छ । आफ्नो स्याहार गर्नेहरूलाई त हानेर मार्लाजस्तो गर्छ, अरूलाई त देख्न पनि सक्दैन,’’ लामाले भने, ‘‘मात नसकिञ्जेल यसलाई यसरी नै राख्नुपर्ने हुन्छ ।’’ अहिले कृष्णप्रसादलाई चराउन लैजान सकिएको छैन । टाढाबाट घाँस र पानी दिएर मात्र स्याहार भइरहेको माउते चौधरीले बताए ।

‘‘दिनभरि जंगलमा चरेर आउँथ्यो, अहिले बाँधिरहनु पर्दा आहारा घटेको छ, कम्जोर पनि हुँदै गएको छ,’’ माहुते चौधरीले भने, ‘‘बाँधिरहँदा दुब्लो पनि भएको छ ।’’ पर्याप्त आहारा र हिँडडुल गर्न नपाउँदा उसको शरीर कमजोर हुँदै गएको देखिन्छ । एकपटक खुट्टामा बेरिएको सिक्री फुकाएर फेरि बाँध्न डार्ट गरी लठ्याउनुपरेको उनले सुनाए । त्यसबेला पनि उसले एक जना माउतेलाई खुट्टाले हिर्काएको थियो । यसको स्याहार सुसारका लागि दिब्य पोष्टमा तीन जना कर्मचारी खटाइएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार माद चढेको भाले हात्तीले पोथी हात्तीसँग सम्भोग गर्न पाए आक्रामक अवस्था छिट्टै कम हुन सक्छ । तर चितवनमा घरपालुवा भाले हात्तीलाई प्रजननका लागि प्रयोग गरिँदैन । मादको समयमा हात्तीको खानपान पनि केही कम हुन्छ ।

तर उसलाई माया गर्न छाडिएको अनुभूति हुन दिन नहुने उनले बताए । त्यसो भन्दैमा नजिक जान पनि नहुने, अत्यन्त सावधानीका साथ हेरचाह गर्नुपर्ने र एकदेखि दुई महिनापछि हात्ती फेरि सामान्य अवस्थामा फर्किन सक्ने उनको विश्वास छ । तर कतिपय अवस्थामा भने सामान्य अवस्थामा फर्किन ५,६ महिना पनि लाग्न सक्छ ।

यो नेपालकै इतिहासमा जन्मिएका दुर्लभ जुम्ल्याहा हात्तीका छावा रामगज र लक्ष्मणगजको दाइ हो । नेपाल राष्ट्र बैंकले जारी गरेको एक हजार रुपियाँको नोटमा रामगज र लक्ष्मणगजको तस्बिर छापिएको छ । कृष्णप्रसाद, रामगज र लक्ष्मणगजकी आमा देवीकली हुन् भने बुबा प्रसिद्ध जंगली हात्ती रोमियो हो । देवकली अझै जिवित छ भने रोमियोको सन् २००७ अक्टोबर १५ मा मृत्यु भएको निकुञ्जको अभिलेखमा उल्लेख छ ।

प्रजननका दृष्टिले अत्यन्त सफल मानिएको रोमियोले नेपालमै पहिलो जुम्ल्याहा हात्ती जन्माउने इतिहास रचे पनि मानव बस्तीमा पस्ने र आक्रामक व्यवहारका कारण स्थानीयका लागि त्रासको पर्याय बनेको थियो । निकुञ्जका अनुसार सन् १९९९ पछि जन्मिएका करिब २० वटा हात्तीका छावाका बाबु रोमियो नै थियो । एक समय प्रजनन केन्द्रका सबै ११ वटा पोथी हात्ती एकैपटक गर्भवती हुनुमा रोमियो र अर्को जङ्गली भाले हात्ती ‘रोनाल्डो’को मुख्य भूमिका रहेको मानिन्छ ।

जन्मेदेखि नै माउते सिकिन्दर चौधरीले कृष्णप्रसादको स्याहार गर्दै आएका छन् । अहिले पनि सिकिन्दर निकै सावधानी अपनाउँदै टाढाबाटै घाँस र पानी खुवाइरहेको उहाँले बताउनुभयो । कृष्णप्रसाद छिट्टै सामान्य अवस्थामा फर्किएर फेरि पहिलेझैँ सँगै काम गर्न पाइयोस् भन्नेमा चौधरी आशावादी छन् ।