माछा मार्न पाउने अधिकार सुनिश्चित गर्न मुसहर समुदायको माग

बोमलाल गिरी

नवलपुर, साउन २४ गते । नारायणी नदी किनारमा बसोवास गरिरहेका नवलपुरका मुसहर समुदायले आफ्नो परम्परागत जीविकोपार्जनको आधारका रूपमा रहेको माछा मार्ने अधिकार सुनिश्चित गर्न माग गर्दै चितवन राष्ट्रिय निकुञ्जलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल मुसहर एकता समाजले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जालाई नवलपुरमा ज्ञापनपत्र बुझाउँदै आफ्ना माग पुरा गर्न आग्रह गरेको हो ।

ज्ञापन पत्र बुझाउँदै समाजका सचिव जितेन्द्र मुसहरले पुस्तौँदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएको आफ्नो समुदायलाई सहज रूपमा माछा मार्ने वातावरण बनाउन आग्रह गरे । उनका अनुसार नवलपुरमा झण्डै एक हजार ७ सय र देशभर १२ लाख मुसहर समुदायको बसोवास रहेको छ ।

पुस्तौँदेखि नदी, खोलानाला तथा प्राकृतिक स्रोतमा निर्भर भएर जीविकोपार्जन गर्दै आए पनि पछिल्लो समय विभिन्न कानुनी तथा प्रशासनिक अवरोधका कारण परम्परागत पेशा संकटमा परेको समाजको ठहर छ ।

निकुञ्जले नारायणी नदीमा माछा मार्ने क्रममा जरिवाना तिराउने, कुटपिट गर्ने तथा माछा मार्ने लाइसेन्सबाट वञ्चित गर्ने गरेको मुसहरको आरोप छ । संविधानले दिएको प्राकृतिक स्रोतसम्बन्धी अधिकारसमेत व्यवहारमा खोसिएको भन्दै आफूहरूले लामो समयदेखि अधिकारका लागि संघर्ष गर्दै आएको उनले बताए

त्यस्तै माछा मार्ने क्षेत्र र समय स्पष्ट तोक्न तथा एक पुस्ताबाट अर्को पुस्तामा माछा मार्ने लाइसेन्स हस्तान्तरण हुने व्यवस्था गर्न, सहज कानुनी व्यवस्था गरी जंगली सागसब्जी, कन्दमूल, गिठ्ठा, भ्याकुर तथा जडीबुटी संकलन गर्न उनको आग्रह छ ।

त्यसैगरी मुसहर समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन अक्षयकोष स्थापना गर्नुपर्ने, कक्षा १२ र स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने समाजका अध्यक्ष थाम बहादुर मुसहरले बताए ।

मध्यवर्ती उपभोक्ता समितिमा मुसहर समुदायको सहभागिता सुनिश्चित गर्दै निकुञ्जमा आश्रित मुसहर समुदायको जीविकोपार्जन तथा सीप विकासका लागि बजेट अनिवार्य रूपमा छुट्याउनुपर्ने उनीहरुको माग छ ।

ज्ञापनपत्र बुझेपछि निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जाले उहाँहरुका माग जायज रहेको भन्दै निकुञ्ज एक्लैले ती सबै माग पुरा गर्न नसक्ने भएकाले तीनै तहका सरकार पनि त्यत्तिकै जिम्मेवार रहेको बताए ।