नवलपुर, भदौ २ गते । नवलपुर प्रहरीले ठलो परिमाणमा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गमा बिलबिजक नभएको भन्सार छलीको सामान ओसारपसार भइरहेको सूचनाका आधारमा ६२ लाख ५० हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
कावासोती नगरपालिका–८ फलफूल चोतमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्व नारायणघाटतर्फ जाँदै गरेको ना.३ ख ४६७२ नम्बरको ट्रक जाँच गर्ने क्रममा बिलबिजक नभएको, लुकाइछिपाई राखिएको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
प्रहरीले ट्रकमा विभिन्न रंगका एक हजार ५०० थान साडी तथा ठूलो परिमाणमा काँचो कपडा फेला पारेको पण्डितले जानकारी दिए । बरामद सामानको कुल मूल्य करिब ६२ लाख ५० हजार ५०० रुपैयाँ रहेको उनको भनाइ छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि ट्रक र ट्रक चालकसहित महेशपुर भन्सार कार्यालय नवलपरासी पठाइएको कार्यालयले जनाएको छ । बरामद सामानको थप अनुसन्धान तथा आवश्यक कारबाही महेशपुर भन्सार कार्यालयबाट हुने बताइएको छ ।








