दुर्घटनामा घाइते रास्वपा नेताको मृत्यु

सवारी दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सल्कयानको पुरकोटका सभापति बेद बहादुर वलीको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान बेदबहादुरको मृत्यु भएको रास्वपा कपुरकोटका सचिव चुडामणी पिएमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घाइते बेद बहादुरको बिहान ७ः५५ बजेतिर मृत्यु भएको जनाएको छ । उनको शवलाइ पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कपुरकोट गाउँपालिका–३ मूलपानीमा फोर्स गाडी र मोटरसाइकल ठोक्किँदा कपुरकोट, ६ निबासी सभापति वलीसहित सोही ठाउँ निवासी मोटरसाइकलमा सवार ५२ वर्षीय शुकलाल वली घाइते भएका थिए । मङ्गलबार बिहान करिब ११ बजे मूलपानीमा लु.प्र. ०१–००१ ख १११२ नम्बरको फोर्स गाडी र बेदबहादुरले चलाएको बा ६८ प २५२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएका थिए । अर्का घाइते शुकलालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले फोर्स गाडी र चालक दाङ तुल्सीपुर, ११ बस्ने वर्ष २७ का सुरज मिजारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहाममा राखिएको जनाएको छ ।