बोमलाल गिरी
नवलपुर, भदौ २ गते । पाँच वर्षअघि छाडेको गाउँ फर्किंदा धनबहादुर सोमैले आफूले बनाएको घर त भेटे तर घर घरजस्तो रहेन । मान्छेभन्दा अग्ला घाँस उम्रिएका थिए । पर्खाल भत्किएका थिए, टिनका छाना खिया लागेर मक्किसकेका थिए । घाँसले भरिएको आँगन सुनसान थियो । कुनै समय परिवारको चहलपहल हुने घरमा अहिले पहिरो र झाडीले आफ्नो स्वरूप बदलिसकेको थियो ।
हुप्सेकोट गाउँपालिका–५ वाकखोरका ५३ वर्षीय धनबहादुरले आफ्नो पुरानो घरको आँगनमा उभिएर चारैतिर नियाले । केहीबेर मौन रहेपछि उनले भने, “घर त पाँच वर्षमै मभन्दा पनि बुढो भइसकेछ !”
२०७८ असार २४ गते राति करिब पाँच घण्टा परेको भीषण वर्षापछि वाकखोरमा जमिन भासियो । बस्तीका विभिन्न ठाउँमा पहिरो गएपछि गाउँ नै जोखिममा पर्यो । त्यसपछि वाकखोरका बासिन्दा विस्थापित भए । स्थानीय सरकारको पहलमा उनीहरूलाई हुप्सेकोट–१ जुगेपानीमा स्थानान्तरण गरियो ।
त्यसयता पाँच वर्ष बितिसकेको छ । तर विस्थापितको स्थायी व्यवस्थापन हुन सकेको छैन । अहिले पनि कतिपय परिवार साँघुरो कोठामा गुजारा गरिरहेका छन् । एउटै घरमा १२ जनासम्म बस्नुपर्ने विवसता छ । स्थायी बसोबासको टुंगो नलागेका उनीहरु मायाले पुरानो गाउँ वाकखोर फर्किएका थिए । तर फर्किएको गाउँ उनीहरूका लागि बस्न लायक त थिएन नै बरु विगतको सम्झनाले उनीहरूलाई भावविह्वल बनायो ।
डाँडाबाट आफ्नो पुरानो बस्ती देख्नेबित्तिकै धनबहादुरका आँखा रसाए । घरको आँगनमा पुगेपछि उनले आफ्नो विगत सम्झिए । २०७२ सालको भूकम्पले उनको पुरानो घर भत्काएको थियो । त्यसपछि दुःख गरेर अर्को घर बनाए । तर त्यो घर पनि पाँच वर्ष नपुग्दै पहिरोको चपेटामा पर्यो ।
अहिले घरको आधा भाग भत्किएको छ । समथर बारी बाङ्गिएको छ । बाख्राको खोर टेढिएको छ । आँगनमा रहेको अम्बाको रुखसमेत पहिरोसँगै तल्लो कान्लामा पुर्याएको छ । अहिले धनबहादुरको पाँच जनाको परिवार जुगेपानीमा टिन र ब्लकले बनाइएको एउटा कोठामा बस्दै आएको छ । पुरानो घरको अवस्था देख्दा उनले आफूलाई सम्हाल्न सकेनन । “धेरै पीडा हुने रहेछ । निकै दुःख गरेर बनाएको यो घर यस्तो भएको देख्दा रुन मन लाग्ने रहेछ,” उनले भने ।
धनबहादुरको घर अगाडि ठूलो ढुंगा छ । त्यहाँ १५–२० जना सजिलै बस्न मिल्छ । वाकखोरवासीले त्यसलाई ‘बैठक ढुंगा’ भन्छन् । गाउँमा कुनै महत्वपूर्ण विषयमा छलफल गर्नुपरे यही ढुंगामा भेला हुने चलन थियो । खानेपानी, टोल विकास, महिला समूहदेखि रोदी र नाँचगानसम्मका विषयमा यही ढुंगामाथि बसेर छलफल हुन्थ्यो ।

पुरानो गाउँ फर्किएका सोमबहादुर सोमै त्यही ढुंगामाथि उभिए । वरिपरि नियाल्दै भने, “पहिले टेढो ढुंगा अहिले त पहिरोले झन् सोझो पो भएछ ।” ढुंगा फेरिएको थियो, गाउँ फेरिएको थियो, तर सम्झना उस्तै थियो ।
अर्का स्थानीय जसबहादुर सोमैका लागि वाकखोर केवल गाउँ थिएन, जीवनको ठूलो हिस्सा थियो । उनको बाल्यकाल त्यहीँ बित्यो । त्यही जमिनमा आमाले हात समाउँदै हिँड्न सिकाएकी थिइन् । गाउँ छोड्दाको क्षण सम्झँदा उहाँले पनि मन सम्हाल्न नसकि भक्कानिए ।
“आमाले हात समाउँदै ताते–ताते गर्दै हिँड्न सिकाएको जमिन छोडेर जाँदाको दिनको पीडा म चाहेर पनि कहिल्यै बिर्सन सक्दिनँ,” उनले भने, “त्यो बेलाको क्षण सम्झँदा निकै गाह्रो हुन्छ । विस्थापित हुनुको पीडा के हो, हामीलाई थाहा छ ।” सरकारले स्थानान्तरण गरेर तत्कालका लागि आश्रय दिए पनि जीवन चलाउने आधार नदिएको उनको गुनासो छ ।
वाकखोरमा आफ्नो परिवारलाई वर्षभरि खान पुग्ने अन्न उब्जाउने जमिन थियो । अम्रिसो, अदुवा, बाख्रा लगायत आम्दानीका स्रोत थिए । अहिले एउटा साँघुरो कोठामा जीवन गुजारा चलाउनु पर्दा उनी भन्छन्, “यति फराकिलो ठाउँ छोडेर अहिले ४०–५० वटा बाख्रालाई एउटै खोरमा थुनेर राखेजसरी बस्नुपरेको छ ।”
सोमबहादुरका लागि वाकखोर फर्केर बस्न सकिने ठाउँ होइन । तर बिर्सन सकिने ठाउँ पनि रहेन । “यी पाखा–पखेरा हेर्दा पनि छुट्टै आनन्द आउँछ । बालापनमा खेलेको, गोठालो गएको, घाँस–दाउरा गरेको, साथीसँग रमाएको याद ताजा भयो,” उनले भने, “अहिले बसेको ठाउँ र यो ठाउँ तुलना गर्दा आँखा रसाउँछन्, मन भक्कानिन्छ । सायद हाम्रो तक्दिरमै यही लेखेको थियो होला ।”
सरकारले स्थानान्तरण गरेर तत्कालका लागि ज्यान जोगाए पनि पाँच वर्षसम्म स्थायी व्यवस्थापन हुन नसक्दा उनमा निराशा बढेको छ । “खै, अब त सरकार पनि छैन जस्तो लाग्न थालिसक्यो । सरकार भएको भए आफ्ना नागरिकले यसरी दुःख पाएर बसेको देख्थ्यो होला र !,” उनले भारी मन बनाउँदै भने, “पाँच वर्ष भइसक्यो, केही न केही त गर्नुपर्ने हो । खाली गर्छौं, गर्छौं मात्र भन्ने तर केही नगर्दा अब त आश पनि मरिसक्यो ।”
स्थायी पुनःस्थापनाको आशामा पाँच वर्ष बिताएका सोमबहादुर अब विदेश जाने तयारीमा छन् । आफ्नै गाउँमा फर्किएर जीवन पुनः सुरु गर्ने आशा कमजोर भएपछि रोजगारीका लागि खाडी मुलुक जाने सोच बनाएको उनले सुनाए । “नेपालमा बसेर केही प्रगति होला जस्तो छैन । अब खाडी मुलुक जाने त होला,” उनले भने, “अलिअलि कमाउन सकिएछ भने घर त बनाउनै प¥यो । भाग्यले साथ दिएछ भने कमाउँला, कमाएपछि रमाउँला अनि जमौंला ।”
पाँच वर्षअघि पहिरोले उनीहरूको घर मात्रै बगाएको थिएन, सुरक्षित जीवनको आधारसमेत बगाएको थियो । अहिले उनीहरू फेरि त्यही पुरानो बस्तीमा फर्किएर आफ्नै विगत नियालिरहेका छन् । गाउँमा भत्किएका घर छन्, जमिन जोखिममा छ, बसोवास गर्ने स्थिती छैन, तर माया उस्तै छ । वाकखोर फर्किएका विस्थापितका आँखामा अहिले एउटै प्रश्न छ—पहिरोले खोसेको घर त फर्किएन, अब सुरक्षित बस्ने थलो कहिले पाइएला ?
हेर्नुहोस् भिडियो
यस्तो छ जुगेपानीको बसाई









