नारायणीमा माछा मार्न गएका बोटे एक हप्तादेखि बेपत्ता

नवलपुर, भदौ ५ गते । माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका धनबहादुर बोटे सात दिन बितिसक्दा पनि अझै फेला पर्न सकेका छैनन् ।

कावासोती–११ लौगाई निवासी ३५ वर्षीय बोटे गत शनिबार दिउँसो माछा मार्ने क्रममा नारायणीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले उद्धार सामग्रीसहित नदीमा खोजी गरिरहे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोली घटनास्थलमा शनिबार दिउँसो नै पुगेर खोजी कार्य थालेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो । बेपत्ता बोटेको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयले नारायणी नदी किनार, आसपासका सम्भावित क्षेत्र तथा नदीको बहावअनुसार विभिन्न स्थानमा खोजी गरिरहेको पण्डितले बताए ।

खोजी कार्यलाई त्रिवेणीस्थित गण्डक ब्यारेजसम्म विस्तार गरिएको कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदा अधिकारीले बताए । अधिकारीका अनुसार नवलपुरतर्फ नारायणी नदी आसपासका क्षेत्रमा निरन्तर खोजी गर्दा पनि नभेटिएपछि आज शुक्रबार आफुसहितको टोली खोजी कार्यको लागि गण्डक ब्यारेज जान लागेको बताए ।