दशकौंदेखि रैथाने गाई संरक्षाण गरेर धर्म, संस्कृति र पर्यावरण जोगाउने अभियानमा स्वामी प्रपन्नाचार्य

बोमलाल गिरी
नवलपुर, भदौ ३ गते । मानिसले गाईलाई बोलाउँदा मात्र होइन, गाई आफैँ मानिसको नजिक आएर माया खोजेको दृश्य कमै देखिन्छ । नवलपुरको त्रिवेणीधामको गौशालामा भने यस्तो दृश्य सामान्यजस्तै छ । त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचाय नजिक पुग्दा गाईहरू उनलाई चिनेझैँ गर्दै सुम्सुमिन आउँछन्, आब्बाँ–आब्बाँ गर्दै आवाज निकाल्छन् र शरीरमा टाँसिन्छन् ।

उनका लागि यी गाई केवल गौशालामा पालिएका पशु मात्र होइनन्, धार्मिक आस्था, संस्कार, संस्कृति र पर्यावरणसँग जोडिएका जीव हुन् । यही भावनाले उनलाई रैथाने गाई संरक्षणको अभियानमा दशकौँदेखि निरन्तर जोडिराखेको छ ।

पशु सेवा विभागका अनुसार नेपालमा धार्मिक, सांस्कृतिक, कृषि तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिँदै आएको रैथाने गाई पालनमा उल्लेख्य ह्रस आएको छ । उन्नत तथा वर्णशंकर जातका गाईले तुलनात्मक रूपमा बढी दूध दिने भएकाले किसान ती जाततर्फ आकर्षित भएका हुन् ।

कृषिमा प्रविधिको प्रयोग बढेसँगै गोरु पाल्ने परम्परा पनि हराउँदै गएको छ । खेतबारी जोत्न ट्रयाक्टरको प्रयोग बढेपछि हलो तान्ने गोरुको आवश्यकता घटेको हो । त्यसैगरी चरन क्षेत्रको अभाव, गोठ राख्ने ठाउँको कमी, बैदेशिक रोजगारी र गाउँबाट सहरतर्फ बढ्दो बसाइँसराइले पनि रैथाने गाईपालन हराउँदै गएको छ ।

स्थानीय जातका गाईको संख्या घट्दै गइरहेका बेला त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष कामधेनु गौशालाले भने चार दशकदेखि रैथाने गाईको संरक्षण र पालनलाई निरन्तरता दिँदै आएको छ । स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार गौशालामा हाल करिब १६० वटा रैथाने गाई संरक्षण गरिएको छ । सडक तथा गाउँघरमा छाडिएका गाई र बाच्छाबाच्छीलाई समेत उद्धार गरी गौशालामा ल्याएर संरक्षण गर्ने गरिएको उनले बताए ।

धार्मिक आस्थाको केन्द्र गाई
“गाई सामान्य पशु मात्र होइन, हाम्रो धर्म, संस्कार, संस्कृति र पर्यावरणसँग जोडिएको जीव हो,” प्रपन्नाचार्यले भने, “गाईको संरक्षण गर्नु भनेको धर्म, वेद, माटो र पर्यावरणको संरक्षण गर्नु हो ।” हिन्दू धर्ममा गाईलाई आमा तथा लक्ष्मीका रूपमा सम्मान गरिन्छ । धार्मिक मान्यताअनुसार गाईको शरीरमा देवीदेवताहरूको वास हुने विश्वास छ । जन्मदेखि मृत्यु संस्कारसम्म नेपाली हिन्दु संस्कृतिका विभिन्न अनुष्ठानमा गाई र गाईबाट प्राप्त वस्तुको प्रयोग हुँदै आएको छ ।

दूध, दही, घ्यू, गोबर र गहुँतलाई धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ । यी सामग्रीबाट बनाइने पञ्चगव्यलाई समेत धार्मिक संस्कारमा प्रयोग गर्ने परम्परा रहेको प्रपन्नाचार्यको भनाइ छ । उनका अनुसार गाई नेपाली संस्कार संस्कृतिको अभिन्न अंग हो । “गौविना हाम्रो संस्कार र संस्कृति रहँदैन भन्ने शास्त्रीय मान्यता छ,” प्रपन्नाचार्यले भने ।

गौशालामा रहेका यति धेरै गाईका लागि घाँस, पराललगायत आहारको व्यवस्था मुख्यतः दाताको सहयोगबाट भइरहेको छ । गौशालाभित्रै बाह्रमासे घाँस लगाएर गाईलाई हरियो घाँस खुवाउने व्यवस्था गरिएको गौशालाले जनाएको छ ।

जन्मदिन, विवाह, विशेष पर्व तथा अन्य अवसरमा श्रद्धालुहरूले एक दिनको गौसेवाका लागि दिएको रकमले गाई पाल्न सहयोग पुगेको र यस्ता सहयोगले गौशालामा रहेका गाईको संरक्षण र आहार व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याएको गौशाला व्यवस्थापनले जनाएको छ । लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका गाईको संरक्षण गर्नु गौशालाको प्रमुख उद्देश्य रहेको प्रपन्नाचार्य बताउँछन् ।

गौसामग्रीमा औषधीय गुण
गाईको दूध, घ्यू, गहुँत र गोबरलाई परम्परागत आयुर्वेद तथा धार्मिक अभ्यासमा विभिन्न प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ । विशेषगरी गहुँतलाई औषधीय महत्व भएको पदार्थका रूपमा लिने गरिन्छ ।

प्रपन्नाचार्यले स्थानीय जातका गाईबाट प्राप्त दूध, गहुँत र गोबरको स्वास्थ्यमा विशेष महत्व रहेको बताउनुभयो । उहाँले गाईको आवाज, हिँडाइ र श्वाससमेत मानिसको स्वास्थ्यसँग जोडिने धार्मिक तथा परम्परागत मान्यता रहेको उल्लेख गरे ।

यद्यपि गहुँत वा गाईबाट प्राप्त अन्य पदार्थले क्यान्सर, उच्च रक्तचाप, आर्थराइटिसलगायत गम्भीर रोग निको पार्छ वा रोक्छ भन्ने दाबीलाई आधुनिक चिकित्सा विज्ञानले स्थापित उपचारका रूपमा स्वीकार गरेको छैन । यस्ता औषधीय दाबीलाई वैज्ञानिक अनुसन्धान र चिकित्सकीय प्रमाणबाट प्रमाणित गर्न सके गाईको महत्व अझै बढ्ने उनको विश्वास छ ।

नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिएको छ भने प्रचलित कानुनले गाईको वधमा प्रतिबन्ध लगाएको छ । त्यसैले धार्मिक आस्था मात्र नभई कानुनी तथा सांस्कृतिक दृष्टिले समेत गाई संरक्षण नेपालमा विशेष संवेदनशील विषयका रूपमा रहेको छ ।

रैथाने गाईको संख्या निरन्तर घट्दै जाने हो भने त्यससँग जोडिएको परम्परागत ज्ञान, कृषि प्रणाली, जैविक विविधता र सांस्कृतिक अभ्याससमेत प्रभावित हुन सक्ने सरोकारवालाको भनाइ छ । त्यसैले आधुनिक कृषि प्रणालीसँगै स्थानीय जातका गाईको संरक्षण, वैज्ञानिक अध्ययन र दिगो गौपालनलाई अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

हेर्नुहोस् भिडियो