बर्खाका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको जंगल सफारी असोज २३ गतेदेखि खोल्ने तयारी गरिएको छ । गत असार १७ देखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आउने भलबाढीले बिगारेको बाटो मर्मत गर्ने, ढलेका रुखहरू पन्छाउने जस्ता कामहरू निकुञ्जले धमाधम गरिरहेको जनाएको छ ।
असोजको दोस्रो साता आएको बाढीले जंगल सफारी गर्ने रुटहरू भत्काएका कारण जंगल सफारी खुला गर्न समय लागेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
असोज दोस्रो साता रिउ खोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने रुट बढी बिगारेको छ । सो ठाँउमा ग्राभेल हालेर रुट तयार गर्ने काम भइरहेको थापामगरले बताए । निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी यथावत नै सञ्चालन हुँदै आएको छ ।
निकुञ्जभित्र हात्ती सफारी भने अरू समयमा पनि गर्न पाइँदैन । बर्खाका तीन महिना जिप सफारी बन्द भए पनि जंगल वाक भने रोकिँदैन । निकुञ्जले हरेक वर्ष जिप सफारीबाट करोडौं रकम आम्दानी गर्दै आएको छ ।
निकुञ्ज घुम्न आउने अधिकांश विदेशी पर्यटकहरूले जिप सफारी गर्ने गर्दछन् । नेपालीहरूको पनि आर्कषण उस्तै छ । चितवन निकुञ्जमा वर्षमा औंसत दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू आउने तथ्यांक छ ।
निकुञ्जले प्रतिजिप प्रवेश शुल्क ५ हजार, विदेशी पर्यटकले प्रवेश शुल्कवापत २ हजार, सार्क मुलुकका पर्यटकले एक हजार र नेपालीलाई १५० रुपैयाँ लिदै आएको छ ।









