नवलपुर, असोज १८ गते । नवलपुरको त्रिवेणीमा गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्नका लागि अष्टाचल धनधान्याचल गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ आयोजना गरिने भएको छ।
त्रिवेणीमा रहेको श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई थप विस्तार गर्दै महाविद्यालयका रूपमा विकास गर्ने र त्यसलाई आधार बनाएर गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
मुक्तिनाथ पीठाधीश स्वामी कमलनयन आचार्यको सत्सङ्कल्पमा सञ्चालन हुँदै आएको मुक्तिनाथ पीठ वेदविद्याश्रमलाई वैदिक शिक्षा, संस्कार, संस्कृति तथा अध्यात्मको अध्ययन अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ।
यस क्षेत्रमा वैदिक विश्वविद्यालयको आवश्यकता रहेको भन्दै विश्वविद्यालय स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन तथा जनसहभागिता जुटाउने उद्देश्यले आगामी मंसिर १ देखि २९ गतेसम्म महायज्ञ सञ्चालन गरिने स्वामी कमलनयन आचार्यले जानकारी दिए ।
एक महिनासम्म चल्ने महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी वैदिक धर्म, संस्कृति, शिक्षा तथा सामाजिक एकताको अभियानका रूपमा अघि बढाइने उनको भनाइ छ। महायज्ञका क्रममा आर्थिक सहयोग मात्र संकलन नगरी प्रत्येक दिन फरक–फरक धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने गजेन्द्रमोक्ष दिव्य धामका पीठाधीश कृष्ण प्रपन्नाचार्यले जानकारी दिए ।
महायज्ञ अवधिभर सनातन वैदिक धर्म महासम्मेलन, कन्या तथा बटुक पूजन, पाँच करोड दीप प्रज्वलन, गण्डकी पूजन, सामूहिक शालिग्राम पूजन, सयौँ गौमाताको सामूहिक पूजन लगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने प्रपन्नाचार्यले जानकारी दिए। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त धर्माचार्य, विद्वान् तथा आचार्यहरूबाट शास्त्रीय प्रवचनसमेत हुने बताइएको छ।









