नवलपुर, असोज १७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी-२ स्थित दाउन्नेको एस मोडमा शनिबार विहान यात्रुबाहक बस पल्टिँदा छ जनाको मृत्यु भएको छ । अरु १० जना घाईते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको बस ओरालो सडकमा चालकले नियन्त्रण गुमाउदा नालामा पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार मृत्यु हुनेमा जाजरको भेरीगंगा नगरपालिका-३ का ५० वर्यीय निर्जुङ्ग खत्री, बाँके कोहलपुर-३ का ३२ वर्षीय दिपेन्द्र के.सी., बाजुरा स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर-१० का ५५ वर्षका एकेन्द्रराज रेग्मी, बाँके नेपालगंज-७ का २२ वर्षीय कृष कनौजिया र नामथर नखुलेको अन्दाजी ४०/४२ वर्षका पुरुष व्यक्ति मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा गोरखा गोरखा नगरपालिका-९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन-६ का बर्ष २८ का तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा- १ का २० वर्षीया आकृती थारु, बाजुरा स्वामी कात्तिक-५ का ३२ वर्षका पवन बुढा, बर्दिया राजापुर-९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामी कात्तिक-१ का २५ वर्यीय प्रेम बम रहेका छन् ।
त्यस्तै ललितपुर कुञ्जय सोमपाक-५ का बर्ष २९ का अनोज खत्री, बर्दिया बाँसगढी-७ का ३६ वर्षका लाल बहादुर कार्की, बाँके नेपालगञ्ज-१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगढ कुपिण्डे-१ का २१ वर्षका अनिल बुढाथोकी घाइते भएका छन् ।
टाउकोमा चोट लागेका अस्लामको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको र
घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक सहित १८ जना सवार रहेकोमा दुई जना शकुसल रहेका छन् ।









