बोमलाल गिरी
नवलपुर, असोज १७ गते । नवलपुरको हुप्सेकोट–६ पेलेगाको भिरबाट निरन्तर निस्केको धुँवाको अध्ययन गर्न खानी तथा भूगर्भ विभाग, धौवादी फलाम खानी कम्पनी लिमिटेड र विज्ञान प्रविधि तथा प्रज्ञा प्रष्तिठान (नाष्ट)को टोली भदौ ३० गते नवलपुर आइपुग्यो । टोली सिधै जिल्ला प्रशासन कार्यालय पुग्यो । तर टोलीलाई पेलेगासम्म कसरी पुर्याउने भन्ने विषय हुप्सेकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय लगायत सबैको टाउको दुखाईको विषय थियो ।
काठमाडौंको टोली ‘फोर ह्वील’ गाडीमै आएको थियो । तर ‘फोर ह्वील’ भए पनि गाडीको उचाई कम भएको र चालकमा पहाडमा गाडी चलाएको अनुभवको कमीले चालकले उक्त गाडी पहाड लैजान नसक्ने निष्कर्ष निकालियो र अर्कै गाडीको बन्दोवस्त मिलाइयो । कैयौ ठाउँमा ओर्लेर गाडी धकेल्दै टोली पेलेगा पुग्यो र फक्र्यो पनि ।
तर हिलाम्मे पहाडको बाटो उक्लिन गाउँपालिका अध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेनाका जम्दार लगायतले आफ्नै गाडी धकेलेको घटना चर्चाको विषय भयो । यो घटना अहिले धेरैले देखेकाले चर्चाको विषय भयो । तर हुप्सेकोटको पहाडी भेगका बासिन्दाले यस्तो सास्ती दिनहुँ भोगिरहेका छन् ।
मध्यविन्दु नगरपालिकाको गिरबारीबाट करिब १६ किलोमिटर उत्तरतर्फ पर्ने भडारी, पेलेगा, मौलाथर लगायतका गाउँका बासिन्दा वर्षौंदेखि सडककै कारण सास्ती खेप्न बाध्य छन् । गाउँसम्म पुग्ने सडक जीर्ण छ । ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन् । वर्षायाममा सडक हिलाम्मे र चिप्लो हुँदा सवारीसाधन चलाउन सकस हुन्छ ।
सडक विकासको चर्चा गाउँ–गाउँसम्म पुगेको धेरै वर्ष भइसक्यो । स्थानीय तहदेखि प्रदेश र संघीय सरकार सम्मले ग्रामीण सडकलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन् । तर हुप्सेकोट गाउँपालिकाका केही गाउँका बासिन्दाका लागि भने सहज सडक अझै सपना जस्तै बनेको छ ।
सडकको अवस्था वर्षौंदेखि उस्तै रहे पनि यसको स्थायी समाधानतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । स्थानीयका लागि यो सडक केवल आवतजावतको माध्यम मात्र होइन, जीवन र मृत्युबीचको दूरी घटाउने माध्यम बन्ने गरेको छ । त्यही सडक व्यवस्थित नहुँदा बिरामी पर्दासमेत समयमै उपचारका लागि स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था छ ।
विशेषगरी वर्षायाममा पानी परेपछि गाउँमा यातायात सेवा अवरुद्ध हुन्छ । सडकमा सवारीसाधन चल्न नसकेपछि सामान्य स्वास्थ्य समस्या हुँदा पनि घण्टौँ पैदल हिँडेर बजार झर्नुपर्ने बाध्यता छ । अझ गम्भीर बिरामी परेमा अवस्था झनै पीडादायी हुन्छ । एम्बुलेन्स वा अन्य सवारीसाधन गाउँसम्म पुग्न नसक्ने भएपछि बिरामीलाई डोको, स्ट्रेचर वा मानिसकै ढाडमा बोकेर सहर झार्नुपर्ने अवस्था आउने गरेको हुप्सेकोट–६ भडारी गाउँका स्थानीय केशबहादुर सोमै मगरले बताए ।
‘‘वर्षायाममा सडकमा गाडी चल्न नसकेपछि बिरामीलाई उपचारका लागि तीन÷चार घण्टा बोकेरै तल झार्नुपर्ने अवस्था आउँछ,’’ मगरले भने, “गाडी नचलेपछि बिरामी बोकेर पैदलै झ्यालबास पुर्याउन सकिएन भने बाटो मै ज्यान जान पनि सक्छ ।’’
बिरामीको अवस्था गम्भीर हुँदै जाँदा परिवारका सदस्यको चिन्ता झन् बढ्छ । एकातिर बिरामीको पीडा, अर्कोतिर बाटोको समस्या । तर सवारीसाधन पुग्ने अवस्था नभएपछि बिरामीलाई बोकेर घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता यहाँका स्थानीयका लागि सामान्यजस्तै बनेको छ ।
अर्का स्थानीय चुरा सोमै मगर पनि सडककै कारण गाउँलेले लामो समयदेखि दुःख भोग्दै आएको बताउँछन् । सडकको स्तरोन्नती नगरिँदा सामान्य कामका लागि पनि गाउँबाट बाहिर जान समस्या हुने र बिरामी पर्दा समस्या झन् गम्भीर हुने उनको भनाइ छ । “बाटो राम्रो नहुँदा उपचार नै नपाएर मर्नुपर्ने अवस्था आउन सक्छ । हामीले वर्षौंदेखि यही समस्या भोगिरहेका छौँ,” उनले भने ।
स्थानीयका लागि सडक केवल विकासको पूर्वाधार मात्र होइन, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादनको बजारीकरण र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । तर सडकको अवस्था सुधार नहुँदा गाउँमा उत्पादित कृषि सामग्री बजारसम्म पु¥याउनसमेत समस्या हुने स्थानीयको भनाइ छ ।
हिउँदमा जसोतसो सवारीसाधन चल्ने भए पनि वर्षायाम सुरु भएपछि समस्या झनै बढ्छ । कतिपय अवस्थामा हप्तौँसम्म नियमित यातायात सञ्चालन हुन नसक्दा पैदल यात्रा अन्तिम विकल्प बनिदिन्छ । वृद्धवृद्धा, बालबालिका, गर्भवती र बिरामीका लागि यस्तो यात्रा झनै कष्टकर हुने गरेको छ ।
हुप्सेकोटका यी पहाडी बस्ती प्राकृतिक रूपमा सुन्दर भए पनि सडक पूर्वाधारको कमजोर अवस्थाका कारण अझै दुर्गम जस्तै बनेका छन् । गाउँमा सडक पुगे पनि स्थानीयले त्यसकोे अनुभूति गर्न पाएका छैनन् । सडकमा नियमित मर्मतसम्भार नहुँदा समस्या झन् बढ्दै गएको स्थानीयको गुनासो छ । पटक–पटक सडक सुधार र स्तरोन्नतिको माग राखिए पनि पुरा हुन नसकेको अर्का स्थानीय पुनराम सोमैले बताए ।
सडक केवल ढुंगा, माटो र गिट्टीको बाटो होइन, यो गाउँलेको जीवनसँग जोडिएको आशा हो । र, जब यही बाटो बिग्रन्छ, सबैभन्दा पहिले गाउँलेको जीवन नै कठिन बन्ने गरेको छ । वर्षौंदेखि जोखिम मोलेर यात्रा गरिरहेका स्थानीयको प्रश्न छ, “सहज यात्राका लागि हामीले अझै कति समय दुःख पाउने ?”









