सधै सास्ती दिने अर्खला पहिरो कसरी नियन्त्रणमा आयो ?

बोमलाल गिरी
नवलपुर, भदौ ८ गते । समुन्द्री सतहदेखि ९ सय २७ मिटर उचाई । पूर्वापश्चिम राजमार्गको दलदलेबाट २६ किलोमिटरको दूरी । वि.सं. १९१८ देखि बसेको पुरानो मगर बस्ती । १८० घर धुरी रहेको यो ठाउँ सानो लाप्राक भनेर पनि चिनिन्छ । चिसो मौसम, उर्वर भूमि रहेको यो ठाउँ हो नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका–४ को अर्खला ।

अर्खलाको सिरानमा २०१६ सालमा स्थापित सेतीनाग माध्यामिक विद्यालय छ । वर्षाको समयमा जव बादल मडारिँदै जान्छ, आकाश गर्जिन थाल्छ, यहाँका विद्यार्थीको मुटुले पनि ठाउँ छोड्ला जस्तो हुन्थ्यो । विद्यार्थीको ध्यान पढाईभन्दा झ्याल खोलेर बाहिर हेर्न तिर हुन्थ्यो ।

शिक्षक शिक्षिकाहरु केही भइहाल्यो भने खबर गर्नु है भन्दै कक्षा कोठामा छिर्थे । यस्तो समस्या विद्यालयमा मात्र होइन, बस्तीमा पनि थियो । यहाँको सुन्दर बस्ती र विद्यालयलाई तीन तिरबाट पहिरोले घेरेको थियो ।

तर तीन महिनाको प्रयासपछि स्कुलको पछाडिपट्टी मुख्य जोखिम रहेको एउटा पहिरो भने नियन्त्रणमा आएको छ । पहिलो नियन्त्रण भएपछि यहाँका सबैले राहातको शास फेरेका विद्यालयका प्रधानाध्यापक खेम बहादुर सुस्लिङ मगरले बताए ।

 

सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरको तीन महिनाको प्रयासमै विद्यालयको एकातिर मुख्य जोखिम रहेको पहिरो लगभग पूर्ण रुपमा नियन्त्रणमा आएको आयोजनाका इन्जिनियर विकाश बरालले जानकारी दिए । संघीय सरकारको तीन करोड रुपियाँ बजेटले गत चैतदेखि प्रयास गरेर पहिरो नियन्त्रण गर्न सफल भएको बरालले बताए ।

आयोजनाका प्रमुख डा नारायणप्रसाद सुवेदीका अनुसार अर्खलाको यो पहिरो नियन्त्रणका लागि एकीकृत पहिरो व्यवस्थापन प्रविधि र बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरिएको छ । बायो इन्जिनियरिङ प्रविधि अन्तर्गत विभिन्न प्रजातीका विरुवा रोपिएको छ भने भू–क्षय रोक्न ग्याविन जालीको प्रयोग गरी पहिरो नियन्त्रण गर्न सफल भएको सुवेदीले जानकारी दिए ।  त्यस्तै शिरमा नाली बनाएर पहिरो भित्र पानी छिर्न नपाउने गरी सेट ड्याम प्रयोग गरेर पानी तल फ्याकिएको उनले जानकारी दिए ।

योे कावासोतीको फलफूलचोकबाट बुलिङटार हुँदै तनहुँको मधुवन जोड्ने सडक हो । ‘‘पहिले बाँदर पनि हिड्न कठिन हुने यो सडकमा अहिले हरियाली छाएको छ, निक्कै मेहनत र कठिन प्रयासपछि असम्भव जस्तै ठानिएको यो पहिरो नियन्त्रणका लागि सफलता मिलेको छ,’’ आयोजना प्रमुख सुवेदीले भने ।

बढी जोखिम रहेको विद्यालयको पछाडिको भाग पहिरो नियन्त्रण भएपछि अहिले विद्यार्थी र शिक्षक/शिक्षिकामा त्रास हटेको र ढुक्कले पढाउन सकिने वातावरण सृजना भएको प्रअ मगरले बताए । एकातिरको पहिरो नियन्त्रण भएर विद्यालयमा जोखिम हटेपनि पनि अन्य दुई तिर पहिरोले वस्तीलाई भने अझै जोखिम नै रहेको उनको भनाइ छ ।

केन्द्र र प्रदेश सरकारलाई गरेको पटक पटकको आग्रहपछि एकातिरको पहिरो नियन्त्रण भएको बुलिङ्गटार–४ का वडाअध्यक्ष मिनबहादुर आलेले बताउनुभयो । ‘‘पहिरो नियन्त्रणका लागि सबै तिर आग्रह गरियो, इन्जिनियर लगेर पहिरो देखाइयो, सडक विभागका महानिर्देशक, सांसाद र मन्त्रीसम्मलाई पहिरोको बारेमा जानकारी गराएपछि सरकारले बजेट निकासा गरेर काम भयो, अव एउटा पहिरो नियन्त्रण भएको छ, वडाध्यक्ष आलेले भने, ‘‘यसले विद्यालयको जोखिम हटाए पनि अझै दुईवटा पहिरोले वस्तीमा जोखिम कायमै छ ।’’ बाँकी पहिरो नियन्त्रण गर्ने काम सडक विभागको भए पनि विभागले चासो नदिएको स्थानीयको गुनासो छ ।

विद्यालयका सहायक प्रधानाध्यापक सुन्दरमणि सुवेदीका अनुसार बाटोलाई फराकिलो बनाउने क्रममा खराब इन्जिनियरिङका कारण २०७६ सालमा ठूलो पहिरो गएको थियो । हरेक वर्ष पहिरो थप फराकिलो हुँदै गएपछि जोखिम पनि बढ्दै गएको थियो ।

हेर्नुहोस हालको अवस्था