बोमलाल गिरी
नवलपुर, असार २४ गते । नवलपुरको कावासोतीमा रहेको एउटा विद्यालयको जग्गामा तीन वटा विद्यालय सञ्चालन भएको पाइएको छ । कावासोती नगरपालिका–३ विष्णुनगरमा रहेको जनता माविको नाममा रहेको जग्गामा कावासोती ३ मा रहेको सहिद स्मृती मावि र कावासोती–८ मा रहेको ज्ञानोदय माविले भोगचलन गरिरहेका हुन् ।
जनता माविको नाममा रहेको १२ विघा १६ कठ्ठा ११ धुर जग्गामध्ये ज्ञानोदय माविले १९ कठ्ठा, १९.५ धुर र सहिद स्मृतीले ०३ विघा, ०६ कठ्ठा, ३.५ धुर प्रयोग गरेको विवरण नगरपालिकामा पठाएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए । जसमध्ये जनता मावि आफैले ४ विघा, ६ कठ्ठा, ५ धुर जग्गा भोगचलन गरिरहेको छ ।
अहिले जनता माविले आफ्नो विद्यालयको नाममा रहेको जग्गा फिर्ता गरिनु पर्ने माग गरेको छ भने अन्य दुई विद्यालयले लामो समयदेखि भोगचलन गरिरहेकाले जग्गाधनी पूर्जा दिलाई दिन नगरपालिकासँग आग्रह गरिरहेका छन् । जनता माविका प्रधानाध्यापक होमनाथ भुसालले नगरपालिकालाई जग्गा फिर्ताका लागि पहल गरिदिन आग्रह गरेको बताए ।
‘‘हाम्रो अभिभावक भनेकै नगरपालिका हो, नगरपालिकाले के कसरी हुन्छ पहल गरिदिन पर्यो र जनता माविको नाममा रहेको जग्गा फिर्ता गरिदिन पर्यो,’’ प्रअ भुसालले भने । उनका अनुसार विष्णुनगरमा विद्यालय स्थापना गर्ने बेला जनता प्रावि शिवबस्ती थियो । जनता प्राविको नाममा जग्गाधनी पुर्जा छ, जसलाई ज्ञानोदय र शहिद स्मृतीले वर्षैदेखि उपभोग गरिरहेका छन् ।
ज्ञानोदय माविका प्रधानाध्यापक चेतनाथ अधिकारीले स्थापना काल (वि.सं. २०४० साल) देखि जग्गा भोगचलन गरिरहेको, ०७२ सालमा यही जग्गा बैंकमा धितो राखेर ऋणसमेत पाएकोले जग्गा आफ्नो विद्यालयको नाममा कायम गरिदिन कुनै समस्या नहुने तर्क गरे ।
२०४० सालमा विद्यालय स्थापना हुँदाका प्रधानपञ्च प्रेम बहादुर गुरुङ र चल्ताफुर्ता व्यक्तिहरु पण्डित इन्द्र प्रसाद भटराई, खुशीलाल पाण्डे, बाबुराम पराजुली लगायतले पहिले खाली ठाउँमा विद्यालय बनाइहाल्न र पछि कसैले दाबी गर्न आएमा पछि नै मिलाउने भन्दै ज्ञानोदय मावि स्थापना गरेको विद्यालय प्रशासनको भनाइ छ ।
‘‘त्यतिबेला चासो दिएको भए टुंगिसक्थ्यो, तर अहिलेसम्म पनि कसैले चासो दिएन,’’ प्रअ अधिकारीले भने, ‘‘नगरपालिकाले सक्ने भए आफू मातहतका जग्गाको व्यवस्थापन गर्नुपर्छ होइन भने संघीय सरकारले नै पहल गर्नुपर्छ ।’’
भोगचलन गरिरहेको भए पनि आफ्नो विद्यालयको नाममा जग्गाधनी पूर्जा नहुँदा धेरै समस्या भोग्नु परेको सहिद स्मृती माविका प्रधानाध्यापक पुरुषोत्तम भुर्तेलको भनाइ छ । ‘‘विद्यालयको आफ्नो जग्गा नहुँदा ठूला आयोजना पर्दारहेनछन्, संघीय सरकारको बजेट पर्दैन, प्लस टु सञ्चालनका लागि कुनै पनि ठूला भौतिक संरचना बनाउन पाइएको छैन,’’ प्रअ भुर्तेलले भने ।
नगरपालिका भित्र जनता मावि भनेरै ६/७ वटा विद्यालय सञ्चालनमा रहेकाले यो जग्गा पनि जनता मावि विष्णुनगरले दावी गर्न नमिल्ने भुर्तेलको तर्क छ । यो जग्गा आफ्नो नाममा कायम गर्न पर्यो भनेर कावासोती नगरपालिकालाई आग्रह गरेपनि पालिकाले प्रयास नगरेको उनको गुनासो छ ।
नगरप्रमुख विष्णुप्रसाद भुसालले भने भूमि सम्बन्धि अधिकार पालिकालाई नभएकाले केही गर्न सक्ने अवस्था नरहेको बताउँछन् । नक्सा भित्र भएका, नाम उल्लेखित रहेकाहरुको हकमा जग्गा प्राप्तीको लागि मालपोत कार्यालयालाई पत्र लेख्न सक्ने भएपनि अन्यको हकमा केही गर्न नसकिने बताए । अन्य कुरा भने भूमि आयोगको जिम्मा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिलाई दिएकाले उसैले मिलाउने उनको भनाइ छ ।
अधिकांश विद्यालयको छैन आफ्नै पूर्जा
कावासोती नगरपालिका भित्र रहेका अधिकांश सरकारी विद्यालयका संरचना ऐलानी जग्गामा निर्माण भएको पाइएको छ । नगरपालिकाले संकलन गरेको विवरण अनुसार केही विद्यालयको केही क्षेत्रफल आफ्नो नाममा भएपनि अधिकांशले ऐलानी जग्गासमेत चर्चेका हुन् ।
पालिका भित्र ३९ वटा विद्यालय रहेकोमा ३० वटा विद्यालयले ऐलानी जग्गा चर्चेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद् शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए। २५ वटा विद्यालयसँग आफ्नै नाममा जग्गा भए पनि अपुग भएपछि ऐलानी जग्गा चर्चेका पाण्डेले जानकारी दिनुभयो । चारवटा विद्यालयले भने आठ नम्बरी जग्गामा भवन बनाएका छन् ।
धेरै विद्यालयको तथ्यांक संकलन भइसकेको र अधिकांश विद्यालय एलानी जग्गामा रहेको देखिएको नगरप्रमुख भुसालले बताए । ‘‘अनिवार्य हिसावले पूर्जा भएका विद्यालयहरु रहने तथा पूर्जा नभएका, नक्साभन्दा बाहिर रहेका र वन क्षेत्रमा कायम रहेका विद्यालय हटाउने भनेर पालिका नतोकी संघीय सरकारबाट सार्वजनिक सूचन आएको थियो,’’ नगरप्रमुख भुसालले भने, ‘‘सार्वजनिक विद्यालय, मठमन्दिर र ऐतिहासिक संरचनाहरु हटाउन हुँदैन भन्ने हाम्रो भनाइ हो ।’’









