भोटेकोशी बाढी अपडेट : नवलपुरमा भेटिए ११० शव र मानव अंग

नवलपुर, भदौ १२ गते । नवलपुरका विभिन्न तटिय क्षेत्रमा भोटेकोशीको विनाशकारी बाढीले बगाएर ल्याएका एक सय १० जनाको शव तथा मानव अंगहरू फेला परेका छन् ।

बाढीले बगाएर ल्याएका शवहरू क्षतविक्षत अवस्थामा फेला परेकाले हालसम्म एक महिलाको बाहेक अन्य कसैको पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार हालसम्म ८५ जनाको शव र २४ मानव अंग फेला परेका हुन् । जसमध्ये २६ महिला, ४५ पुरुष, १७ बालबालिका रहेका छन् भने अन्य २४ वटा केही अंगहरू मात्रै फेला परेका उहाँले जानकारी दिए ।

फेला परेका शवहरूमध्ये सबैभन्दा बढी गैँडाकोट क्षेत्रमा ६९ वटा, मध्यविन्दु नगरपालिकामा १८ वटा, विनयी त्रिवेणी गाउँपालिकामा ९ वटा र देवचुलीमा ८ वटा र कावासोतीमा ६ शव रहेका छन् ।

हाल फेला परेकामध्ये नगर अस्पताल गैंडाकोटमा ३५ वटा शव तथा मध्यविन्दु प्रादेशिक अस्पतालमा २१, मध्यविन्दु नगर अस्पतालमा ५ वटा शव राखिएको प्रहरीले जनाएको छ । त्यस्तै ४१ वटा शव गण्डकी अस्पताल पोखरा पठाइएको छ भने ८ वटा शव पाल्पाका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

नारायणी नदी किनार क्षेत्रमा अझै पनि शवहरू फेला पर्ने क्रम जारी रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले आफ्ना आफन्त हराइरहेका परिवारहरूलाई पहिचानका लागि नजिकैको सुरक्षा निकाय वा नगर अस्पताल गैंडाकोटमा सम्पर्क गर्न आग्रह गरेको छ ।