नवलपुर, भदौ १० गते । रसुवा बाढीको असर नारायणी नदीसम्म पर्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपुर प्रशासनले जनाएको छ ।
बाढीको बहाव तिब्र रुपमा बढिरहेकाले यसको असर नारायणी नदीको तटीय क्षेत्रमा पर्ने आँकलन गरिएको छ । तर असर कत्तिको हुन्छ भन्ने पुरै आँकलन अझै हुन नसकेको नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताए ।
‘‘यसको असर मुग्लिन कटिसकेपछि मात्र आँकलन गर्न सकिन्छ, अहिले नै भन्न सकिन्न, तर हामीले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेका छौं,’’ प्रजिअ उपाध्यायले भने, ‘‘नारायणीसँग जोडिएका नवलपुरका पालिकाहरु गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीको तटीय क्षेत्रका वासिन्दालाई खाली नै गराउने प्रयास गरिरहेका छौं ।’’
तर नारायणी नदी फराकिलो क्षेत्रमा बगेकाले त्यति धेरै असर नगर्ने स्थानीय प्रशासनको अनुमान छ । ‘‘यो पटक सतर्कता अपनाउने मात्र नभई तटीय क्षेत्र खाली नै गराउने भन्ने माथिको आदेश छ, सोही अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी तयारी अवस्थामा छ,’’ प्रजिअ उपाध्यायले भने ।
नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नं. १ र २ तथा कावासोती १७ जोखिममा रहेको अनुमान प्रशासनको छ । नवलपुर प्रहरीले चितवनदेखि नै बाढीको जोखिम बढेदेखि नै माइकिङ गर्दै सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।









