जेष्ठ नागरिकलाई खाद्य सामग्री वितरण गरि मनाइयो सेवानिवृत राष्ट्र सेवक समाजको स्थापना दिवस

कावासोती, असोज ७ गते । सेवानिवृत राष्ट्रसेवक समाज नवलपुरले आफ्नो चौथो स्थापना दिवसका अवसरमा कावासोती-१२ पिठौली स्थित लक्ष्मीनारायण मन्दिरमा अवस्थित वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूका लागि खाद्यान्न सामग्री र केही नगद समेत प्रदान गरी स्थापना दिवस मनाएको छ ।

डा. नरनाथ पाण्डेको अध्यक्षता, उच्च अदालतका पूर्व न्यायाधीश ऋषि अधिकारीको प्रमुख आतिथ्यता, कावासोती-१२ का वडा अध्यक्ष दिपेश खनालको विशेष आतिथ्यता तथा तथा जेष्ठ नागरिक सङ्घ केन्द्रीय समितिका सदस्य डाक्टर गोपाल खनालको विशेष आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रम समाजका सचिव देवराज भट्टराईले गरेका थिए।

कार्यक्रममा करिब ५० जनाको उपस्थिति थियो  र वृद्धाश्रममा बस्ने जेष्ठ नागरिकहरू र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मदन अर्यालले गरेका थिए भने मन्दिरको तर्फबाट सेवानिवृत राष्ट्रसेवक समाजलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रममा विशेष अतिथि डा. गोपाल खनालले पाँच हजार र प्रमुख अतिथि ऋषि अधिकारीले रु ५,१०० मन्दिरलाई सहयोग गरी आजीवन सदस्यता समेत लिएका थिए ।

सेवानिवृत राष्ट्रसेवक समाजका पदाधिकारीहरूले आफ्नो पेन्सनबाट रकम काटेर सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेका छन् । भूकम्प,  बाढी वा यस्तै दैवी प्रकोप, अशक्त अपाङ्ग संस्था लगायत वृद्धाश्रममा सहयोग गर्ने, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र शिविर सञ्चालन गर्ने र स्वास्थ्यका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्य गर्दै आइरहेको छ जसलाई नवलपुर बासीले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन्।