पोखरा । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३/२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।
रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो । संकटाले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।
खेल अतिरिक्त समयमा धकेलिनु अघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । खेलको ३७औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २-१ को स्थितिमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल २-२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले विजयी गोल गरे । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो ।









