काठमाडौं । विराटनगर सुपर किंग्स काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेट प्रतियोगिताको क्वालिफायर टु मा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न दोस्रो एलिमिनेटरमा काठमाडौं नाइट्सलाई ९९ रनले पराजित पार्दै क्वालिफायर टु मा सुरक्षित भएको हो ।
विराटनगरले दिएको १८३ रनको लक्ष्य पन्छाएको काठमाडौं १२.४ ओभरमा ८३ रनमा अलआउट भयो । जसमा अभिनाश बोहराले १६, ज्ञानेन्द्र मल्लले १५, लोकेश बमले १३ र कमलसिंह ऐरीले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।
काठमाडौंको पारी ध्वस्त पार्ने क्रममा विराटनगरका सुर्य तामांगले ४, साहब आलमले दुई, कीयन जोसेफले २ र हुसैन तलतले १ विकेट लिए ।
त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनायो । जसमा कप्तान रोहित पौडेलले अर्धसतकीय पारी खेल्दै ६१ रन बनाए । यस्तै हुसैन तलतले ३८ रनको योगदान गरे ।
टोलीको स्कोर ५ रन हुँदा २ विकेट गुमेर धर्मराएको पारीलाई पौडेल र हुसैनले सम्हालेका थिए । यि दुबैले ९८ रनको साझेदारी गरे । यसका साथै विवेक यादवले अविजित ४६ र राज नन्ननले २३ रनको योगदान गरे ।
काठमाडौंका अनिल खरेल र कमलसिंह ऐरीले दुई दुई, अभिनाश बोहरा, गौतम केसीले एक एक विकेट लिए । यो जितसंगै विराटनगरले फाइनल प्रवेशका लागि जनकपुर रोयल्ससंग प्रतिस्प्रर्धा गर्नेछ ।
फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर भोलि हुनेछ । काठमाडौं भने प्रतियोगिताबाटै बाहिरिएको छ ।









