साफ अण्डर १५ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै छन्। ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

च्याम्पियनसिपमा नेपाल र भुटान दुवै टोली पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित नेपाल सुखद नतिजा निकाल्न चाहन्छ।

नेपाली टोली प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ। भुटान भने पहिलो खेलमा भारतसँग १२–० गोलको फराकिलो अन्तरले हराएको थियो।

आजै हुने दोस्रो खेलमा घरेलु टोली बंगलादेश र भारत खेल्नेछन्। चार टोली सहभागी च्याम्पियनसिप राउन्ड रोविनको आधारमा हुनेछ। शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।