तराईको प्रचण्ड गर्मीमा व्यवशायीक स्याउ खेती, कति उपयुक्त ? हेर्नुहोस् भिडियो

बोमलाल गिरी/नवलपुर, भदौ १४ गते । सामन्यतया स्याउ चिसो मौसम अर्थात हिमाली भेगमा मात्र फल्ने फल हो भन्ने बुझाई छ । तर नवलपुरको प्रचण्ड गर्मीमा पनि स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्न सक्छ । हो नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं.–३ रतनपुरमा रहेको एग्रिकल्चरल एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालिको बगैँचामा लटरम्म स्याउ फलेका छन् । त्यो पनि झण्डै १० विगाहा क्षेत्रफलमा ।

स्याउ बगानमा ४२ डिग्री सेल्सियस तापक्रम सम्ममा फल्न सक्ने ४ हजारभन्दा बढी स्याउका बिरुवा रोपिकएको रिसर्च सेन्टरले जनाएको छ । सेन्टरका व्यवस्थापक ईश्वर भट्टराईका अनुसार चर्को गर्मीमा पनि फल्न सक्ने ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ गरी तीन प्रजातिका स्याउका बिरुवा रोपिएको छ । त्यसका बेर्ना भारतको कास्मिरबाट ल्याइएको हो । सामान्यतयाः यहाँको तापक्रम २५ देखि ४० डिग्रै सेल्सियतसम्म हुने गर्दछ ।

स्याउ रोपेको २ वर्षमा अधिकांश बोटमा फुल र फल लागेका छन् । अहिलेसम्म स्याउबाट आम्दानी भने लिन बाँकी रहेको रिसर्च सेन्टरले जनाएको छ । अर्को वर्षदेखि यहाँ उत्पादन भएका स्याउ बजारसम्म पुग्ने आँकलन गरिएको छ । भट्टराईका अनुसार कैलालीपछि यति धेरै क्षेत्रफलमा तराईमा स्याउ खेति गरिएको यो नै पहिलो हो ।

तराईका क्षेत्रमा नौलो मानिएको स्याउ खेतीका लागि ३५ देखि ४० लाख रुपैयाँ लगानी भैसकेको उनले बताए । लामो समय अष्ट्रेलिया बसेका प्रा. डा. मेघराज श्रेष्ठको एकल लगानीमा स्याउ खेती गरिएको हो । स्याउका बिरुवा बिक्री वितरण गर्ने गरि बेर्ना उत्पादनसमेत सुरु गरिएको र देशका विभिन्न ठाउँबाट हजारौंको संख्यामा माग आएको भट्टराईले बताए ।

स्याउ बाहेक रिर्सच सेन्टरमा अम्बा, सुन्तला, कागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको बदाम लगायतका फलफूल लगाईएको छ । त्यो बाहेक रिसर्च सेन्टरले ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आएको जनाएको छ ।

अहिले रिसर्च सेन्टरले यहाँ मात्रै ३५ देखि ४० जनालाई दैनिक रोजगारी समेत दिदैँ आएको बताएको छ । तराईमा व्यवशायीक स्याउ उत्पादन हुनथालेपछि रिर्सच सेन्टर एग्रो टुरिजमको गन्तव्यको रुपमा समेत अगाडी बढदै गएको छ । बगैचा अवलोकन गर्न, अध्ययन र विरुवा लिनका लागि दैनिक २० देखि ४०÷५० जनासम्म आउने गरेको भट्टराईले बताए ।

स्याउका लागि तराई कति उपयुक्त ?
हिमाली क्षेत्रमा हुने फल स्याउका लागि तराई कत्तिको उपयुक्त हो भन्ने बारेमा खासै अनुसन्धान भएको देखिदैन । तर पनि प्रा. डा. मेघराज श्रेष्ठले तराईको प्रचण्ड गर्मीमा पनि राम्रै लगानी गरेर स्याउ खेती गरेका छन् ।

गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीका अनुसार यो स्याउले दिने उत्पादन, यसको स्वाद, उपभोक्ताको रोजाई, विरुवाको टिकाउपना, रोगकिराको प्रकोप सहन सक्ने क्षमता लगायत कुरामा खेती निर्भर रहन्छ ।

‘स्याउ हाइ चिलिङ, मिडियम चिलिङ र लो चिलिङ गरी तीन किसिमका हुन्छन्, तराईको गर्मी ठाउँका लागि लो चिलिङ अर्थात कम चिसोमा फल्ने स्याउ उपयुक्त हुन्छ, महानिर्देशक रेग्मीले भने, ‘तर यसको स्वाद मनाङ, मुस्ताङमा फलेको स्याउको जस्तो हुँदैन, जसले गर्दा बिदेशी स्याउले ओगटेको हाम्रो बजारमा नेपाली तराइको स्याउले कत्तिको ध्यान तान्न सक्छ, त्यो त उत्पादन भएर बजारमा आएपछि मात्र भन्न सकिन्छ ।’

स्याउमा विद्यावारिधी गर्नुभएका कृषि अनुसन्धान परिषद् नार्कका मुख्य वैज्ञानिक डा. गिरिधारी सुवेदीका अनुसार विभिन्न कारणले गर्दा गर्मी मौसम स्याउका लागि उपयुक्त हुँदैन । उहाँका अनुसार स्याउ ‘लो चिलिङ’ अर्थात कम चिसो भएको ठाउँमा पनि फल्ने भए पनि गुणस्तरमा निक्कै कमजोर हुन्छ ।

‘‘कम चिसो भएको ठाउँमा फल्ने स्याउले मुख्य गरेर वर्षातको सिजन फल दिन्छ, असार साउनमा तयार हुने भएकाले रंगिन, वास्नादार र स्वादिष्ट हुँदैन, जसले गर्दा उपभोक्ताले मन पराउँदैनन, सुवेदीले भने, ‘तापक्रम र आद्रता बढी हुने भएकाले रोगकिराको प्रकोप बढी हुन्छ, विरुवाको स्वास्थ्य राम्रो हुँदैन र आयु पनि लामो हुँदैन ।’

तराईमा धेरै खर्च गरेर व्यवशायीक स्याउ खेती गर्नुभन्दा वैकल्पिक खेती गर्न वा अन्य फलफूल लगाउन उनको सुझाव छ ।