बोमलाल गिरी/नवलपुर, भदौ २० गते । जुगेपानीका स्थानीय दिनेश सोमै मगरको उमेर भर्खर २६ वर्ष भएको छ । तीन वर्षभन्दा बढी समय उननले बैदेशिक रोजगारीका लागि कतारमा बिताए । तीन वर्षअघि फर्केर उनले गाउँमै केही गर्छु भनेर तरकारी खेती गर्न थाले ।
तर तरकारी खेती सुरु गरेको डेड वर्षमै उनी मलद्धारको क्यान्सरको सिकार भए । भरतपुर क्यानसर अस्पतालमा गएर मलद्धारको अपरेशन गरेपछि उनी केही ठिक भएका थिए । तर फेरी ढाडको हड्डीमा क्यान्सर सरेपछि अहिले उनको दैनिकी कठिन बन्दै गएको छ ।
‘‘किराको मल भन्छन्, झार मार्ने दवाई भन्छ, खेती गर्दा अनेक किसिमका विषादी लगाउनै पर्छ, विषादी किनेर ल्याउँदा कसरी प्रयोग गर्ने भन्ने विधि पनि थाहा भएन, प्रयोग गर्दा खासै सावधानी पनि अपनाइएन, जसको परिणाम अहिले यो उमेरमै क्यान्सर बोकेर बस्नु परेको छ, सोमैले भने ।
जुगेपानी तरकारी र काक्रोका लागि पकेट क्षेत्र हो । नवसृजना कृषि समूहका अध्यक्ष टेकबहादुर मगरका अनुसार हुप्सेकोट–१ जुगेपानीमा मात्र सिजनको बेला सयौं कृषकले ९० विगाहाभन्दा बढी क्षेत्रफलमा काँक्रो खेती गर्छन । जहाँबाट दैनिक ६० देखि ७० टन काँक्रो निस्कने गर्छ । जुन क्राँको कालिमाटी, बल्खु, नारायणघाट, पोखरा, बुटबल लगायतका सहरमा निर्यात हुने गर्छ ।
विषदी प्रयोगकै कारण क्यान्सर लागेकोमा उनी ढुक्क छन् । ‘जहाँसम्म लाग्छ मलाई विषादी प्रयोग गर्न नजानेरै क्यान्सर लागेको हो, नत्र यहाँ यति धेरै तरकारी खेती गर्ने किसानलाई क्यान्सर र मृगौलाको रोग लाग्थ्यो त ?’ प्रश्न गर्दै सोमैले भने ।
दिनेशको दुई घर पल्तिर ६५ वर्षीया हरिमाया थापा पनि साढे दुई वर्षदेखि आन्द्राको क्यान्सरले थला परेकी छिन् । हरिमायाको छेवैमा घर भएका ६४ वर्षीय तारा बहादुर बिक गाउँको पुरानो कृषक हुन् । १५ वर्षदेखि तरकारी खेती गरिरहेका उनलाई तीन वर्ष अघि पिसाव नलीमा क्यान्सर देखियो ।
‘‘तरकारी खेतीबाटै मलाई रोग लाग्यो, तरकारीमा औषधी प्रयोग गर्दा यस्तो रोग लाग्दो रहेछ भन्ने थाहा नहुँदा अहिले म जस्तै धेरै पीडित बनेका छन्, विकले भने, ‘‘यहाँ सुरुमा तरकारी खेती गरेका प्रेम बहादुर रजाली पनि क्यान्सर लागेरै चारवर्षअघि बित्नुभयो ।’’
उपभोक्ताले पनि स्वस्थकरभन्दा हेर्दा राम्रो रोज्ने गरेकाले पनि कृषकले विषादी प्रयोग गर्ने गरेको उनको ठम्म्याई छ । ‘‘किरा लागेको राम्रो हुन्छ तर उपभोक्ताको रोजाईमा त्यो पर्दैन, सबैले राम्रैसँग सप्रेको खोज्छन्, राम्रो बनाउनका लागि विषादी प्रयोग नगरी हुन्न, राम्रो उत्पादन गर्छुभन्दा रोग लागेको थाहा हुँदो रहेनछ, विकले भने ।
ताराबहादुरको घरबाट पाँच घर पर टेक बहादुर विकको घर छ । ६६ वर्षका टेकबहादुरलाई मृर्गौलामा क्यान्सर भएपछि एउटा मृर्गौला नै फाल्नु पर्यो । ‘‘पोहोर साल अलि धेरै काँक्रो लगाइयो, त्यही साल काँक्रोले भाउ पाएन, त्यसैसाल मृर्गौलामा क्यान्सर लागेर फाल्नु पर्यो, विकले भने, रोग र ऋण एकैसाल थपियो ।
नवलपुरमा व्यवशायीक तरकारी खेती गर्ने अधिकांश किसानमा क्यान्सर र मृर्गौला रोग लागेको डरलाग्दो तथ्य बाहिरिएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिकामा मात्र व्यवशायीक तरकारी खेती गर्ने ६४ जनामा क्यान्सर र मृर्गौला रोग लागेको स्वास्थ्य शाखाले हुप्सेकोटले जनाएको छ । त्यसमध्ये १४ जना वडा नं. १ को जुगेपानी क्षेत्रकामा मात्र रहेको हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
तरकारीमा प्रयोग गर्ने विषादीकै कारण यति ठूलो संख्यामा किसानलाई मृर्गौला र क्यान्सर रोगले समातेको सापकोटाले बताए । ‘‘किसानहरुले प्रयोग गरेका विषादीहरु, उनीहरुले प्रयोग गर्ने विधि, प्रयोग गर्दा अपनाइएको असावधानी र एउटै क्षेत्रका व्यवशायीक किसानहरुलाई मात्र यो रोग लाग्नुले विषादीकै कारण क्यान्सर र मृर्गौलाको रोग लागेको निष्कर्षमा हामीहरु पुगेका छौं, सापकोटाले भने ।
हेर्नुहोस् भिडियो
विषादीले रोग निम्त्याएपछि पालिका पनि चिन्तित बनेको छ । विषादी न्यूनीकरणका लागि छलफल चलाए पनि कार्यान्वयन नभएको गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह राना मगरले बताए । ‘‘कृषकहरुसँग छलफल गरेर गतवर्षदेखि नै विषादी कम गर्न भनेका थियौं, उपाध्यक्ष मगरले भने, ‘‘कार्यान्वयनमा समस्या देखिएको छ, यसरी रोग बोक्ने सबैभन्दा धेरै जुगेपानीमै देखिए ।’’
डरलाग्दो रोगले धेरै थला पर्न थालेपनि पालिका, कृषि कार्यालय र स्वास्थ्य कार्यालयले संयुक्त रुपमा विषादीरहित तरकारी खेती गर्न अभियान चलाउने योजनामा रहेको स्वास्थ्या शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । ‘‘एकपटक विषादी नहाली खेती गर्न लगाएर परीक्षण गर्ने संयुक्त योजना बनाएका छौं, सापकोटाले भने ।
हावाको बहाव नहेरी विषादी प्रयोग गर्ने गरेकाले पनि समस्या देखिएको उनको बुझाइ छ । ‘हावाको बहाव एकातिरबाट बगेको हुन्छ, त्यसको वहाव नहेरी औषधी छर्कदा बहाव परिवर्तन भएर मान्छे तिरै आउँछ, सापकोटाले भने, ‘‘अहिले धेरैलाई क्यान्सरको रोग देखिनुको प्रमुख कारण विषादी प्रयोग गर्ने विधि नजान्नु पनि हो ।’
यी हुन् प्रयोग भएका विषादी
कृषि शाखा कार्यालय हुप्सेकोटका अनुसार तरकारीमा इमिडाक्लोरप्रिक, रक्लोरपाइरिफस, इमामेविटन, बेन्जोएट, साइपरमेसिन, रक्लोरपाइरिफस जस्ता किटनासक विषादीको प्रयोग भएको छ । त्यस्तै ढुसिनानक विषादीमा मेन्कोजेव, कार्बेन्डाजिम, मेटलाक्सिल, डाइपयोमाोर्फ लगायतका विषादी प्रयोग गरिएको छ ।
यी विषादीले सिधै क्यान्सर र मृगौलामा असर गर्ने कृषि विभागका पूर्व महानिर्देशक एवं विषादी विज्ञ डा. डिल्ली राम शर्माले बताए । ‘‘इमिडाक्लोरप्रिक, रक्लोरपाइरिफसले क्यान्सरको उच्च जोखिम निम्त्याउँछ भने ढुसिनासक विषादीमा जुन जुन प्रयोग गरिएको छ, त्यसले मृर्गौला ड्यामेज गर्छ, डा शर्माले भने ।
विषादी विज्ञ समेत रहेका केन्द्रीय कृषि प्रयोगशाला हरिहर भनव, ललितपुरका प्रमुख महेशचन्द्र आचार्यले यी विषादीहरुमा कासिनोजिन अर्थात ‘क्यान्सर कजिङ एजेन्ट’ हुने भएका कारण क्यान्सर मृगौला रोग लगायत विभिन्न स्वास्थ्या समस्या हुन्छ भनेर प्रमाणहरुले देखाएको बताए ।
‘‘विषदीका कारण आजको भोलि नै समस्या नदेखिने भए पनि केही वर्षपछि समस्या हुन्छ नै, उनले भने । यसअघि गोरखाको गण्डकी गाउँपालिकामा पनि २०६५÷०६६ सालदेखि अत्याधिक विषादी प्रयोग गर्ने गरेकोले यस्तै स्वास्थ्य समस्या देखिएको आचार्यको भनाइ छ ।