नवलपुर, असोज ३० गते । नेपालको शिक्षा प्रणाली सैद्धान्तिक मात्र भयो, व्यवहारिक नहुँदा पढाई सकेर पनि जागिर पाउन वा उद्यम गर्न समस्या भएका गुनासा धेरै सुनिन्छ । जसले गर्दा देशको दक्ष जनशक्ति हरेक दिन अवसर खोज्दै विदेशिरहेको छ ।
त्यसैले विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीलाई स्वदेशमै उद्यमशिल बनाउने अभियान सञ्चालन गरेको छ । जसबाट उद्यम गर्नका लागि विद्यार्थीले पाँचदेखि ४० लाखसम्म बिउपुँजि (सिडमनी) पाउने छन् । उक्त रकम प्राप्त गर्न सकेमा ब्याज नलाग्ने गरी पाँच वर्षमा फिर्ता गर्ने गरी आयोगले रकम उपलब्ध गराउने छ ।
यही कार्यक्रमका लागि नवलपुर जिल्लाबाट मध्यविन्दु बहुमुखी क्याम्पस छनोट भएको छ । क्याम्पसले उद्यम सञ्चालनसँग सम्बन्धित रहेर विभिन्न विषयमा ४८ घण्टे प्रशिक्षण कार्यक्रम पनि सुरु गरेको क्याम्पसका सहायक प्रमुख डा विष्ण्ुाप्रसाद लम्सालले जानकारी दिए । बिहीबारदेखि सुरु भएको यो प्रशिक्षण लगातार तीन दिन र तिहारपछि सार्वजनिक बिदा र शनिवारको दिन पारेर १० दिनसम्म सञ्चालन गरिने उनले जानकारी दिए ।
क्याम्पस प्रमुख प्रा. गणेशमान गिरीको अध्यक्षतामा भएको कार्यक्रमको क्याम्पसका अध्यक्ष मुक्तिराम पाण्डेले उद्घाटन गरे । उद्गम खड्का र स्वेच्छा राजभण्डारीले दिएको प्रशिक्षणमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ३६ जना विद्यार्थी छनोट गरिएको क्याम्पसले जनाएको छ । प्रशिक्षणमा ३० जना विद्यार्थी चाहिनेमा ६० जनाको आवेदन परेपछि अन्तरर्वार्ताको माध्यमबाट उद्यमशील बन्न चाहने विद्यार्थी छनोट गरिएको क्यामपस प्रमुख प्रा. गणेशमान गिरीले जानकारी दिए ।
तालिममा सहभागि विद्यार्थीले (सामुहिक वा व्यक्तिगत रुपमा) तयार पारेका उद्यमशिलता सम्बन्धि पाँचवटा व्यवशायिक योजना आयोगमा पठाइने छ । आयोगले तीनवटासम्म प्रस्ताव पारित गरी रकम उपलब्ध गराउने व्यवस्था छ ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभरका १५ भन्दा बढी क्यामपसमा यो कार्यक्रम लागु गरि सहयोग गर्दै आएको छ । व्यवस्थापन संकायको स्नातक तहमा उद्यमशिलता सम्बन्धि पढाई हुने गरेपनि त्यो व्यवहारिक नभएको गुनासो बढेपछि आयोगले यो कार्यक्रम सञ्चालन गरेको हो । यसले विद्यार्थीको विदेश पलायन रोकी स्वदेशमै उद्यमशिल बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।