नवलपुर, भदौ १९ गते । नवलपुरको कावासोतीमा विषदी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । तरकारी र फलफूलमा अत्याधिक विषदीको प्रयोग भएको र त्यसले मानव स्वास्थ्यमा असर गरेको गुनासो आउन थालेपछि कृषि तथा पशुपन्छी विकाश मन्त्रालय मातहतको कृषि विभागले बुधबारदेखि विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
प्रयोगशाला साउन २८ गतेदेखि खुलेको भएपनि केमिकलको अभावमा सञ्चालनमा आउन सकेको थिएन । अव भने नियमित रुपमा विषदी परीक्षण गरेर रिपोट तयार गर्न सकिने कृषि प्राविधिक वीरेन्द्र भण्डारीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म ९५ वटा तरकारी बालीको परीक्षण गरिएको छ भने सबैमा सामान्य रुपमै विषादी देखिएको छ ।
मौसमीभन्दा पनि बेमौसमी तरकारीमा विषादी बढी प्रयोग गरिएको हुन सक्ने भएकाले त्यसलाई बढी महत्वका साथ हेरिएको भण्डारीले बताए
केन्द्रीय कृषि प्रयोगशाला हरिहर भवनका प्रमुख महेशचन्द्र आचार्यले सरकारले २४ प्रकारका विषादी प्रयोगमा प्रतिवन्ध लगाए पनि भारतसँगको खुल्ला सिमानाका कारण नेपाल भित्रिएर किसानले प्रयोग गरेको पाइएको जानकारी दिए ।
तरकारी र फलफूलमा प्रयोग गरिएको विषादीबाट नकारात्मक प्रभावहरु पनि देखिएको, कृषक आफै बढी प्रभावित भएर क्यान्सर, मृगौलाको रोग, छालाको रोग, नपुंसकता लगायत विभिन्न समस्या देखिने कार्यालय प्रमुख आचार्यले बताए । त्यसैले विषादी प्रयोग गर्ने परेको अवस्थामा सही समय, सहि परिमाण, सहि तरिका र सहि विषादी छनोट गरी प्रयोग गर्न उनको सुझाव छ ।