बोमलाल गिरी, नवलपुर, भदौ २८ गते । नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ का पूर्व र वर्तमान जनप्रतिनिधि मिलेर यतिबेला बारीभरी लटरम्म मेवा फलाईरहेका छन् । वर्तमान वडा सदस्य मिनबहादुर महतो र पूर्व वडा सदस्य तेजबहादुर महतोले ५८ कट्ठा जग्गा भाडामा लिएर मेवा खेती गरिरहेका हुन् ।
लालकृष्ण कृषि तथा पशु फर्म दर्ता गरेर उनीहरुले रेड लेडी प्रजातीको मेवा खेती गरिरहेका हुन् । हाल यो कृषि फर्ममा चार हजार आठ सय मेवाका विरुवाले दाना दिइरहेका वर्तमान वडा सदस्य मिनबहादुर महतोले जानकारी दिए । यी विरुवाबाट २० मेट्रिक टन मेवा उत्पादन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । चैतमा रोपेका यी मेवा असोजको पहिलो हप्तादेखि बजारमा पठाउन सकिने मिनबहादुरले बताए ।
हाल नेपाली मेवाको बजार मूल्य प्रतिकिलो ५५ देखि ६० रुपियाँ रहेकोमा यसले यही मूल्य पाउन सकेमा ३० देखि ४० लाख रुपैयाँ कमाउन सकिने महतो जनप्रतिनिधिहरुको विश्वास छ । त्यसका लागि हालसम्म १८ लाख रुपैयाँ खर्च गरेको पूर्व वडा सदस्य तेजबहादुर महतोले बताए ।
मेवा तयार भइसकेपछि काठमाडौं र वीरगञ्जका व्यापारीलाई बेच्ने गरी कुराकानी भइरहेको तेजबहादुरको भनाइ छ । उनीहरुले मेवा भित्रै खरभुजाको खेती गरेका थिए । तीन महिनामै तयार भएको खरभुजाले राम्रै आम्दानी दियो ।
तीन महिना एउटै जग्गामा खरभुजा र मेवा हुर्किए । खरभुजा निकालेपछि अहिले मेवा पनि तयार भइरहेको छ । अरु फलफूलका लागि वर्षौ कुर्नु पर्छ । तर खरभुजाले एक वर्षमा चार पटक र मेवाले दुई पठक फसल दिनेभए पनि महतो जनप्रतिनिधि यो खेतीमा आर्कर्षित भएका हुन् ।
‘यी फललाई धेरै समय कुर्नु नपर्ने र परिश्रम पनि कम लाग्ने, आम्दानी पनि राम्रै हुने भएपछि हामी यसमा आकर्षित भएका हौं, तेजबहादुरले भने ।
समाजसेवा गर्दैगर्दा आफ्नो जिविकोपार्जनका लागि सहयोगी हुने मिनबहादुरको भनाई छ । ‘‘जनप्रतिनिधि हुँ भनेर मात्र पनि नहुने, घर व्यवहार चलाउन पैसा नै चाहिने रहेछ, त्यसैले जिविकोपार्जन गर्न पनि सहज हुने र अरु कृषिमा जस्तो धेरै मेहनत पनि नचाहिने भएकाले हामीले यो खेती सुरु गरेका हौं, मिनबहादुरले भने ।