कावासोती, भदौ ३१ गते । कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाको हुप्सेकोट–१ जुगेपानीका किसानलाई तरकारी तथा फलफूलमा हाल्ने विषादीसम्बन्धि सचेतना कार्यक्रम गरेको छ । समाचार सेवा डट कमले गत भदौ १९ गते ‘विषादीको प्रयोग व्यापक, एकै पालिकाका ६४ जनामाा क्यान्सर र मृगौला रोग’ शीर्षकको समाचार प्रकाशन गरेपछि ज्ञान केन्द्रले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाल तिवारीले सकेसम्म विषादीको प्रयोग गर्नै नहुने र गरिहाले पनि थोरी र सावधानी अपनाएर प्रयोग गर्नु पर्ने बताए । मानिसलाई लाग्ने रोगमध्ये ७० प्रतिशत विषादीकै कारण हुने गरेको तथ्यले देखाएको भन्दै तिवारीले विषादी हेरेर तीनदेखि ६० दिनसम्म फलफूल तथा तरकारी प्रयोग गर्न नहुने सुझाव दिए ।
उनले नेपालमा हरेक वर्ष सात सय मेट्रिक टन विषादी प्रयोग हुने गरेको भन्दै यो अत्याधिक रहेको र हरेक वर्ष बढ्दै गएको बताए । त्यसमध्ये सबैभन्दा बढी तरकारीमा प्रयोग हुने गरेको ज्ञानकेन्द्रले जनाएको छ । तर यसरी विषादी प्रयोग गर्दा सावधानी नअपनाउनु सबैभन्दा खतरनाक हुने र यसरी प्रयोग गरिएको विषादीको असर ९ पुस्तासम्म रहने भएकाले सतर्क हुन आब्हान गरे ।
विषादीको सट्टा तितेपाती, वनमारा, असुरो, सिस्नो जस्ता टर्रो, अमिलो र पिरो जातका वनस्पतीलाई मिसाएर प्रयोग गर्न सके मल र विषादी दुबैको काम गर्ने उनको भनाइ छ ।
व्यवशायीक कृषि गरिरहेका शंकर थापाले जुगेपानीमा विषादीको प्रयोग निक्कै कम हुँदै गएको बताए । समाचार प्रकाशनपछि तरकारीहरु कावासोतीमा रहेको प्रयोगशालामा परीक्षण गर्दा न्यून विषादी देखिएको र सबै तरकारी खान योग्य रहेको देखाएको उनको भनाइ छ ।
अर्का कृषक सुब्बा चन्द्र लुङगेलीले विषादी प्रयोग नभएको बांगोटिंगो तरकारी उपभोक्ताको रोजाईमा नै नपर्दा किसान मर्कामा परेको बताए । अर्का किसान तेजबहादुर गुराउले कृषक सधै उपेक्षामा पर्ने गरेको भन्दै अनेक समस्याहरु सहेर पनि खेतीलाई निरन्तरता दिएको बताए ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले समाचार आइसकेपछि सबैलाई सचेत बनाएको टिप्पणी गरिन् । उनले समाचारले तरकारी कृषकमा नकारात्मक प्रभाव पर्न थालेकोले यो सचेतनामूलक कार्यक्रम गर्नु परेको बताइन् ।
एउटा किसानले उत्पादन गरेको तरकारी हजार जनाले खानु पर्ने र किसान सचेत नुहुँदा हजार जनामा प्रभाव पर्ने भएकाले सचेत हुनु पर्ने अध्यक्ष पाण्डेको भनाइ छ । उनले सकेसम्म तरकारीमा विषादी नै प्रयोग गर्न नहुने र गर्नै परेमा विस्तारै कम गर्दै लैजानु पर्ने बताइन् ।
विषादीको विकल्प खोज्दै किसान
उपभोक्ताहरु विषादीप्रति सचेत हुन थालेपछि यहाँका किसानले पनि विषादीको विकल्प खोज्न थालेका छन् । हुप्सेकोट वडा नं. ४ का मित्रलाल तिवारीले विषादीको विकल्पमा आफै जैविक औषाधी बनाउन थालेका छन् । उनले झोल–मोल एक, झोल–माोल दुई र झोल–मोल तीन नामक जैविक विषादी उत्पादन गर्न थालेको बताए ।
गोबर, गहुत र पानीको मात्रा मिएर झोलमोल एक, गाईको गहुँत र पानीको मात्रा मिलाएर झोल मोल दुई र टर्रो, तितो, अमिलो, पिरो खालका वनस्पतीहरु मिलाएर झोलमोल तीन उत्पादन गरिरहेको उनको भनाई छ ।
तिवारीका अनुसार झोल–मोल एकले जराको लागि र माटोको शुक्ष्म तत्व उत्पादनमा सहयोग गर्छ । झोल मोल दुईले भिटामिन, सुक्ष्म तत्व र संरक्षणको काम गर्छ भने झोल–मोल तीनले विरुवामा लाग्ले रोगकिरा नष्ट गर्ने र भिटामिन पनि प्रदान गर्ने काम गर्छ ।