नेपाली सेना र विदेशी वाउन्सरको जागिर छोडेर कागती बारीमा भेटिए सागर लम्साल (फोटो/भिडियोसहित)

बोमलाल गिरी, नवलपुर, कात्तिक १ गते । नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारका सागर लाम्सालले पाँच वर्षसम्म नेपाली सेनामा जागिर खाए । जागिरबाट सन्तुष्टि नमिलेपछि उहाँ राजीनामा दिएर वैदेशिक रोजगारीका लागि दुबई गए ।

दुबईमा १४ वर्षसम्म होटलको वाउन्सर भएर रात्रिकालिन सेवा गरेका लम्साल त्यो पनि छोडेर स्वदेशमै केही गर्ने योजनाका साथ साढे दुई वर्षअघि घर फर्के । स्वदेशमा के गर्ने ? सुरक्षित र राम्रो कमाई हुने अरु केही नदेखेपछि कागती खेती सुरु गरे। जसले उनलाई सुरुमै आकर्षित गर्यो ।

हेर्नुहोस् भिडियो

‘कागती लगाएको २७ महिना मात्र भयो, राम्रो फल दिएको छ, साउनदेखि टिप्न पनि सुरु भइसकेको छ, लम्सालले भने, ‘१५ क्विन्टर कागती बेचिसकें, न कामगर्न गाह्रो र ग्राहक खोज्न समस्या ।’

अन्य तरकारी, फलफूल मौसमी हुने भए पनि कागती बाह्रै महिना फल्ने र बाह्रै महिना उस्तै माग हुने भएपछि यसले उनलाई थप हौस्याएको छ । ‘अन्य फलफूल, तरकारी खेती गर्यो, मौसमी हुने, भाउ नपाउने र बीचमा दलाल पनि त्यत्तिकै लाग्ने गर्दा रहेछन्, तर कागतीमा नगद छ, बजार र भाउको समस्या छैन, लम्सालले भने, ग्राहक खोसाखोस गर्न घरै आइपुग्छन् ।’

सुन कागती लगाएका उनलाई यो साँच्चीकै सुन जस्तै भएको छ । अरुभन्दा राम्रो आम्दानी दिने भएकाले यसमा फसिन्न, ढुक्कले गर्दा हुन्छ, अन्य कागती खेती गर्न चाहनेलाई उनको सुझाव छ, पानी नजम्ने टारी खालको जग्गामा लगाउँदा राम्रो हुन्छ ।

१२ लाख लगानी गरेर व्यवशायीक कागती खेती गरेका लम्सालले कागती खोज्न ग्राहकहरु घरसम्मै आउने गरेको बताए । पहिले १५ क्विन्टर काठमाडौंको कालिमाटीसम्म पुर्याए पनि अहिले भने कावासोती मण्डी बजारसम्म पनि लैजान नपरेको उनको भनाइ छ ।

उनका अनुसार अहिले कागती प्रतिकिलो एक ३० देखि एकसय ३५ रुपैयाँमा बिक्रि भइरहेको छ । उनले एक विगाहामा तीन सय १० वटा बोट कागती रोपेको र सबैले फल दिइरहेको बताए । उनका अनुसार एउटा बोटले रोपेको २० देखि २५ वर्षसम्म फल दिइरहन्छ र सुरुका एक दुई वर्षपछि खर्च कम हुने भएकाले नाफा बढ्दै जान्छ ।

‘विदेशमा रातदिन पसिना बेच्नुभन्दा आफ्नै भूमिमा थोरै लगानी गरेर भए पनि काम गर्दाको मज्ज बेग्लै रहेछ, आफ्नै घरपरिवारसँग बसेर काम गर्दा, सँगै रमाइलो गर्दै कागती टिप्दा, न कुनै तनाव छ न थकान, लम्सालले भने, ‘हरेक सेकेण्डमा चल्दै विदेशमा जम्मा गरेको पैसा बाध्यताको कमाइ हो, त्यहाँ सन्तुष्टि छैन ।’