बोमलाल गिरी, नवलपुर, कात्तिक २३ गते । कावासोतीका पाँच जना कृषक मिलेर बनाएको वडा प्रवद्र्धन प्रतिष्ठानले ४ कट्ठा जग्गामा लगाएको सयपत्री फूलबाट गतवर्षको तिहारमा १० क्वीन्टल उत्पादन दियो । तर अवैध रुपमा भित्रिएका भारतीय फूलले नेपाली कृषक मारमा परे । १० क्विन्टलमा २ क्वीन्टल मात्र बिक्रि भयो । चिस्यान केन्द्र नभएका कारण बाँकी ८ क्वीन्टल फूल नष्ट भएको बताउँछन् प्रतिष्ठानले सञ्चालन गरेको कावासोती पशुपन्छी कृषि फर्मका सदस्य बाबुराम केसी ।
तर यो वर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले सरकारले भारतीय फूल आयातमा लगाएको रोक र भारतबाट अवैध रुपमा भित्रने फूलबाट त्यहाँ सयपत्रीमा देखिएको रोग भित्रन सक्ने भएकाले प्लान्ट क्वारेन्टाईन समेत गरेको कडाईका कारण नेपाली फूल कृषक निक्कै उत्साहित थिए ।
त्यसैले प्रतिष्ठानले गतवर्षको भन्दा क्षेत्रफल र फूलका विरुवासमेत बढाएर खेती गर्यो । तर कृषि ज्ञान केन्द्र नवलपुरले अनुदानमा वितरण गरेको फूलको बिउले किसानलाई रुनु न हाँस्नु बनायो । पाँच कट्ठामा उम्रेको फूलमध्ये ६० प्रतिशत पतेरे अर्थात भाले फूल भएको बताउँछन् प्रतिष्ठानका अध्यक्ष पण्डित विष्णुप्रसाद पोख्रेल ।
‘सरकारले दिएको विउ नेपाली किसानलाई प्रोत्साहित गर्ने गरी नै दिएको होला भनेर हौसिएका थियौं, तर भ्रम रहेछ, हामीलाई सरकारले नै ठग्यो, अध्यक्ष पोख्रेलले भने, ‘हाम्रोमा मात्र हो कि भनेको त जताततै यस्तै रहेछ ।’ पाँच कट्ठामा १५ क्वीन्टल फूल अनुमान गरे पनि ३० देखि ३५ किलो मात्र बेच्न सकेको उनको भनाइ छ ।
माया कृषि तथा पशुपन्छी फर्मकी सञ्चालक ज्ञानु जिसीले पनि कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको विउका कारण यो वर्ष मारमा परेको गुनासो गरिन् । ‘४ कट्ठामा सयपत्री फूल लगाएका थियौं, केही फूल पानीले बिगार्यौ, बाँकी रहेको पनि भाले परेपछि नाफा त परै जावस्, खर्च पनि उठेन, जिसीले भनिन् ।
गोसाइँथान एग्रो फमका सञ्चालक दिपक प्रसाद भट्टराईको गुनासो पनि उनीहरुको जस्तै छ । ६० प्रतिशतभन्दा बढी फूल काम नलाग्ने भएको उनले बताए ।
कृषि ज्ञान केन्द्रले कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका १६ जना किसानलाई ‘टेनिस बल’ जातको विउ वितरण गरेको थियो । ‘टेनिस बल’ को विउ दिने भनेपछि आफूले अनुदान अस्वीकार गरेर ‘कर्मा ५५५’ जातको विउ किनेर रोपेको र त्यसले राम्रो उत्पादन दिएको बताउँछन्, शिवशक्ति एग्रो फर्म साँढका सञ्चालक सुदिप दवाडी ।
‘ज्ञान केन्द्रले महंगो दिन्न, सस्तो विउ वितरण गर्दा राम्रो हुन्न, दवाडीले भने, ‘टेनिस बल’ मैले पहिले नै लगाए घाटा खाइसकेको थिए, त्यसैले अहिले पनि त्यही विउ दिने भनेपछि त्यो नलिएर ‘कर्मा ५५५’ जातको विरुवा लगाएँ, त्यसले राम्रै आम्दानी दियो ।’
तर कृषि ज्ञान केन्द्रले भने यसमा आफूहरुको दोष नरहेको दावी गरेको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले आफूहरुले पनि बाहिरबाट खरिद गरेर ल्याएकोले सिल प्याक गरिएको कुन बिउ कस्तो हुन्छ भनेर थाहा नहुने बताए ।
‘किसानलाई कर्मा ५५५’ नै दिने भनेका थियौं तर त्यसको विउ कतै पाइएन, त्यसैले ‘टेनिस बल’ नै वितरण गरिएको हो, यो बिउमा किसानले जताततैबाट गुनासो मात्र गरेका छन्, तिवारीले भनेऽ ‘टेनिस बल’मा शतप्रतिशत फूल त निस्कन्थ्यो तर सोचेभन्दा बढी भाले फूल निस्क्यो, यो फूलको विउ नेपालमा नपाइने भएकाले आयात गर्दा कस्तो पर्छ थाहै नहुने रहेछ ।’
उनका अनुसार यो जातको फूलको बिउ एक लाख रूपियाँमा खरिद गरेर भारत र थाइल्याण्डबाट ल्याइएको थियो । जिल्लाभरि तिहारको बेला कति किसानले कति क्षेत्रफलमा सयपत्री फूलको खेती गर्छन भन्ने कुनै तथ्यांक नभएको ज्ञान केन्द्रले जनाएको छ ।