पानी नपरेपछि किसानले गरे जनप्रतिनिधिलाई बाँधेर पूजा ! (तस्बिरहरु)

साउनमा समेत पानी नपरेपछि किसानहरुले अनौँठो कार्य गरेका छन् ।  पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्नको लागि मन्दिरमा पुर्‍याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव मन्दिरमा लगेर पूजा गरेका हुन् ।

गाउँपालिका उपाध्यक्ष बासमती चमारका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँपालिका अध्यक्ष  सुखडी प्रसाद चौधरी , पूर्व सांसद राम लखन हरिजन, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले सलजस्तो कपडाले बाँधेर मन्दिर पुर्‍याएका थिए । उनका अनुसार शिव खुसी पर्दा पानी पर्ने भन्दै स्थानीयले आग्रह गरेर हिजो जनप्रतिनिधिलाई लगेको र आज बिहान महिलाहरूले  पूजा गरेको बताइन् । उनले भोलि पूजा सकिने बताइन् ।

‘पहिले पहिले समस्या पर्दा गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगेर पूजा गर्ने चलन रहेछ ।  अहिले सोही परम्पराअनुसार गाउँका  जनप्रतिनिधिहरुलाई स्थानीयहरू लगेका हुन्’, उनले बताइन् ।   परम्परा यस्तो रहेकाले स्थानीयले विश्वासका साथ यस्तो कार्य गरेकाले आफूहरुले पनि सम्मान गरेको उनको भनाइ छ ।