काठमाडौं विश्वको प्रदूषित शहरको एक नम्बरमा

काठमाडौं । मंगलबार काठमाडौँको वायु प्रदूषण उच्च छ । आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ९ बजेको मापनमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा छ ।

काठमाडौँको एक्यूआई २७९ छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा पाकिस्तानको लाहोर विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः  भियतनामको हानोई,  चीनको वुहान, कीर्गिस्तानको बिस्केक, भियतनामको होचि मिन्ह, म्यानमारको याङगोन, भारतको मुम्बई र चीनको छेन्दु छन् ।