प्राकृतिक चिकित्साको चामत्कारिक उपचारले जगाएको आत्मविश्वास (भिडियो)

बोमलाल गिरी

नवलपुर, चैत २९ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन स्वास्थ्योपचारका लागि थुप्रै मुलुक धाए । त्यसक्रममा पहिलेदेखिको जन्डिससँगै ढाडको नसा च्यापिएपछि उनी ह्विलचेयरमा बसेर उपचार गराउन नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा आए । आठ दिनसम्म ह्विलचेयरमा राखेर उपचार गराएका पुन नवौँ दिनदेखि हिँडडुल गर्न सक्ने भए । १३ दिनको उपचारपछि उनी निको भएर फर्के ।

पूर्वसभामुख ओनसरी घर्ती पनि घुँडा खिइएको, ढाड दुख्ने, मोटोपन, थाइराइड, प्रेसर र सुगरको समस्याले ग्रसित थिइन् । १३ दिनको प्राकृतिक उपचार पद्धतिबाट उनी चामत्कारिक हिसाबले निको भइन् ।  “मलाई यति छोटो समयमा यसरी निको होला भन्ने लागेको थिएन तर चामत्कारिक हिसाबले सन्चो भयो,” ओनसरीले भनिन् ।

“थप एक हप्ता बसेर उपचार गराएको भए उहाँको समस्या पूर्ण रूपमा निको हुन्थ्यो तर समय अभावले उहाँ १३ औँ दिनमै फर्किनुभयो,” अस्पतालकी उपनिर्देशक डा. आजाद पुरीले भनिन्, “तर ओनसरी मेडमको भने १३ दिनमै अकल्पनीय उपचार भएको छ ।”

नसाको समस्याले अनेक ठाउँमा उपचार गर्दा पनि निको नभएका पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाह पनि यहाँको दुई हप्ताको बसाइले पूर्ण रूपमा निको भए । उनले भने, “यो उपचार पद्धतिबारे धेरै सुनेको थिएँ, त्यति धेरै विश्वास लागेको थिएन तर उपचार गरेपछि थाहा भयो, यो एक पटक आउनुपर्ने ठाउँ रहेछ ।”

यसरी अनेक ठाउँमा उपचार गराएर निको नभएका बिरामीका लागि यहाँको प्राकृतिक चिकित्सालय एउटा राम्रो विकल्प बनेको छ । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधी माटो, पानी, हावा, अग्नि र जडीबुटी तथा वैज्ञानिक मालिस अकुपन्चर, फिजियोथेरापी, योग र ध्यान पद्धतिद्वारा उपचार गर्नु यहाँको विशेषता हो ।

पूर्वसभामुख घर्तीले भनिन्, “खाना नै औषधी, औषधी नै खाना रहेछ, खानपान, आहार, विहार र जीवनशैलीबाट उपचार गर्ने पद्धति मन पर्‍यो ।” १५ दिन यहाँ आएर उपचार गराएका हिमालय टाइम्स दैनिकका निर्देशक उज्ज्वल शर्मा विश्वमा मेडिकल साइन्सले चामत्कारिक विकास गरेको भए पनि प्राकृतिक चिकित्सा पद्धति एउटा राम्रो विकल्प भएको र यसलाई राज्यले अझै ध्यान दिनुपर्ने बताउँछन् ।

यो चिकित्सालयमा तीन सय जनाको आवासीय व्यवस्था भए पनि उपचार युनिट सानो हुँदा १२५ जनाको मात्र उपचार गर्न सकिने अस्पतालका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताउनुभयो । “असार मसान्तसम्ममा नयाँ भवन भनेपछि ३०० जनासम्मलाई उपचार गर्न सकिन्छ तर अहिले उपचार युनिट सानो हुँदा धेरैले शय्या पाउन सक्नुभएको छैन,” व्यवस्थापक सापकोटाले भने, “५० जनाभन्दा बढी अहिले पनि पर्खाइमै हुनुहुन्छ, डिस्चार्ज हुनेभन्दा नयाँ भर्ना हुन चाहने बिरामी धेरै भएकाले सेवा दिन सकेका छैनौँ ।”

प्राकृतिक उपचार पद्धतिप्रतिको आकर्षणका कारण सरकारले सञ्चालनमा ल्याएका नगर र प्रादेशिक अस्पतालमा पनि अब प्राकृतिक चिकित्साका युनिट थप्नुको विकल्प नभएको सापकोटाको भनाइ छ । वर्षमान पुन अर्थमन्त्री भएको बेला यो अस्पतालका लागि १२ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको थियो । आफैँ भर्ना भई छोटो समयमा निको भएपछि उपचारबाट प्रभावित पुनले यहीँबाट अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर आगामी आर्थिक वर्षमा उचित बजेट विनियोजन गर्न आग्रह गरेको पनि सापकोटाले सुनाए ।

यो चिकित्सालयलाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने तयारी गरिएको छ । हालसम्म पनि संस्कृत विश्वविद्यालयले सम्बन्धन भने दिइसकेको छैन । तर विश्वविद्यालयको प्राज्ञिक सभाले सम्बन्धन दिने निर्णय पारित गरेकाले अब प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर चिकित्सा शिक्षा आयोगमार्फत छिट्टै सम्बन्धन प्राप्त हुनेमा व्यवस्थापक सापकोटा आशावादी छन् । अहिले १०/१२ जनाको टिमले पाठ्यक्रम तयार गरिरहेको पनि उनले जानकारी दिए । शिक्षण अस्पताल सञ्चालन कार्यविधिले तोकेका सबै मापदण्ड आफूहरूसँग भएको सापकोटाको दाबी छ ।

“कार्यविधिले ३०० शय्या हुनु पर्छ भनेको छ, त्यो हामीसँग अहिले नै छ, सात बिघा जग्गा हुनुपर्नेमा हामीसँग १० बिघा छ, सबै क्षेत्रका नागरिकलाई सहज हुने ठाउँ हुनुपर्ने भनेकोमा नेपालकै मध्यभाग अवस्थित छ,” सापकोटा भन्छन्, “आर्थिक हिसाबले उपचार मूल्य सुलभ छ, छात्रछात्राका लागि छात्रावास र चिकित्सकका लागि आवासीय व्यवस्था तथा जनशक्तिको पनि समस्या छैन ।’’ उनले भवन निर्माणका लागि अर्थ मन्त्रालयमा आवश्यक बजेट माग गरेको जानकारी दिँदै आगामी आर्थिक वर्षमा त्यो सम्बोधन भएमा शिक्षण अस्पताल सञ्चालनका लागि कुनै समस्या नहुने बताए ।

विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन आउनेको सङ्ख्या हरेक वर्ष बढिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

हेर्नुहोस् भिडियो