बोमलाल गिरी
नवलपुर, बैशाख ४ गते । नवलपुरको दुम्किबासमा रहेको एउटा डेण्टल क्लिनीकको लापरवाहीले एक बिरामीको मृत्यु भएको छ । दाँतको उपचार गर्न दुम्किवासको दाउन्ने देवी डेन्टल क्लिनिक गएका विनयी त्रिवेणी गाउँपालिका–३ ढविया निवासी २९ वर्षीय होम बहादुर सोमैको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
गत चैत २० गते दाँत निकाल्न दाउन्नेदेवी डेन्टल गएका सोमैको उपचारको क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । पिडीत परिवारले दाँत निकाल्ने क्रममा आँखा निकालि दिएको आरोप लगाए पनि सुई लगाउने क्रममा आँखामा इन्फेक्सन भएको हुन सक्ने भन्दै यो अनुसन्धानकै क्रममा रहेको नेपालको भनाई छ ।
आँखामा इन्फेक्सन भएपछि थापालाई उपचारका लागि चितवन मेडिकल कलेज (सीएमसी) लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि मेडिकल कलेजले काठमाडौं रेफर गरेको थियो ।
पीडित परिवारले घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न विनयी त्रिवेणी गाउँपालिकामा मौखिक उजुरी दिएको र आज छलफलका लागि बोलाएको पालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए । यस विषयमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन समितिले छानविन गर्नु पर्ने गिरीको भनाइ छ ।
तर छानविनका लागि प्रहरीमा अहिलेसम्म उजुरी नपरेको प्रहरी नायव उपरीक्षक नेपालले बताए । उजुरी नपरे पनि घटनाको बारेमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दुम्किवासलाई निर्देशन दिइएको उनको भनाइ छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले यस विषयमा आफूले बुझ्ने काम गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेले उक्त डेण्टल क्लिनिक, उपचारमा संलग्न स्वास्थ्यकर्मी आदिको बारेमा प्रशासनले अनुगमन गरेर थप निष्कर्षमा पुग्ने बताए ।
तर पिडीत परिवारले भने पोष्टमार्टम नै नगरी शव बुझिसकेको छ । सोमैका छिमेकी यादव पौडेलले पोष्टमार्टम गर्नु पर्छ भन्ने तिर कसैको पनि ध्यान नपुगेको बताए । कागजातमा दाँत निकाल्ने क्रममा त्यसको असर आँखामा परेर मृत्यु भएको स्पष्ट उल्लेख गरेको भन्दै पौडेलले न्यायाका लागि प्रशासनमा जाने बताए ।