युएईलाई हराउँदै नेपाल पहिलो पटक ग्लोवल छनोटमा, विश्वकप खेल्नबाट एक कदम टाढा

काठमाडौं, जेठ ५ गते । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाली महिला टोली पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेलिन् । उनले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ र ओपनर सम्झना खड्काले २१ रनको योगदान दिइन् । ६४ रनमा ४ विकेट गएको नेपालका लागि रुविना र इन्दुले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए । उकप्तान पूजा महतो १३ रनमा आउट हुँदा रुबि पोद्दार ६ रनमा अविजित रहिन्।

त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।

अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ। उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन्।