काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मन्त्री बन्न दौडधुप नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् । सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै लामिछानले मन्त्री बन्न दौडधुप गर्ने परिपाटी अन्त्य हुनैपर्ने बताए ।
’मन्त्री बन्न कहीँकतै दौडधुप नगर्नुहोला । यो पसल बन्द हुनैपर्छ । घरघर धाउनुपर्दैन । कसैँसँग फोटो खिच्ने काम नगर्नुहोला’, उनले भने । उनले अहिले पार्टीमा फाटो ल्याउन प्रयास भैरहेको पनि उनले बताए ।
उनले पार्टीमा गुटबन्दी नगर्न पनि चेतावनी दिए । ’गुट नबनाउनुहोला । गुट बनाएर कांग्रेस एमालेलाई जित्न सकिँदैन’, लामिछानेले भने, ’मकेन्द्रित राजनीति नगरौँ । देशकेन्द्रित गरौँ ।’
पार्टी स्थापना भएको ४ वर्ष पनि नहुँदा विभिन्न व्यक्तिहरू जोडिएको उनले जानकारी दिए । उनले जनताले दिएको ठूलो जिम्मेवारी ग्रहण गर्नुपर्ने बताउँदै यसलाई ख्याल गर्न आग्रह गरे ।
‘रास्वपा स्थापना भएको ४ वर्ष पनि भएको छैन । यसबीचमा विभिन्न पृष्ठभूमि भएका साथीहरू हुनुहुन्छ । हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य कसैको उच्च किसिमको सार्वजनिक जीवन होला,’ उनले भने, ‘आफ्नो सरकार बहुमतमा रहन्छ, संख्या घट्ला भन्ने कुराको प्रवाह नगरी काममा लाग्नुस् ।’
पहिले जसरी अब केही पनि नचल्ने उनले बताए । ‘पहिले जस्तै केही पनि चल्दैन, काँचुली फेर्ने हो ।’ उनले भने । उनले सबै सांसदलाई जिम्मेवार बन्न र पुरानो भूमिका बिर्सन आग्रह गरे । स्वतन्त्रताको प्रयोग अनुशासित ढंगले गर्नुपर्ने पनि उनले बताए । अराजकता स्वीकार्य नहुने पनि उनले प्रष्ट पारे ।









