४३ जना नेतालाई पार्टीबाट निस्कासन गर्न कांग्रेस सभापतिलाई पत्राचार

नवलपरासी पश्चिमका दुबै क्षेत्रमा प्रतिनिधि सभा सदस्यका आफ्ना उम्मेदवार फराकिलो मतान्तरले पराजित भएपछि ४३ जना जिल्ला नेतालाई कारबाहीको माग गर्दै कांग्रेसले पार्टी सभापतिलाई पत्राचार गरेको छ ।

यहाँको क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य बिनोद चौधरी करिब ३६ हजार मतान्तरले कांग्रेसवाट बिद्रोह गरेर रास्वपाका उम्मेदवार बनेका बिक्रम खनालसँग पराजित भएका थिए ।

त्यसैगरि कांग्रेसवाट रास्वपामा गएर उम्मेदवार बनेका क्षेत्र नम्बर २ का उम्मेदवार नरेन्द्र गुप्तावाट कांग्रेसका उम्मेदवार भरत थापा भारी मतान्तरले पराजित भएका थिए ।

कांग्रेसका दुबै उम्मेवार भारी मतान्तरले पराजित हुनुमा पार्टी भित्रका जिम्मेवार नेताहरुको अन्तरघात मुख्य कारक भएको जिल्ला कार्यसमितिले ठहर गरेको छ ।

नेपाली कांग्रेस पश्चिम नवलपरासीका सभापति अर्जुन पोखरेलले गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएपछि यहाँका ४३ जना जिल्ला नेतालाई पार्टीबाट निस्काशन गर्न केन्द्रीय सभापति गगन थापालाई पत्राचार गरेका छन ।

कांग्रेसका जिल्ला सभापति पोखरेलले केन्द्रीय सभापतिलाई लेखेको पत्रमा ४३ जना कांग्रेसका जिल्ला नेतालाई कारबाहिको लागि माग गरेका छन ।

निर्वाचनमा पराजित भएपछि जिल्ला अनुशासन समितिले तयार पारेको प्रतिबेदनलाई मंगलवार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर थप कारबाहि र पार्टीबाट निस्कासन गर्न सभापति गगन थापालाई पत्राचार गरेको हो ।

पोखरेलले २०८२ चैत ३ गते केन्द्रीय सभापतिलाई लेखेको पत्रमा पार्टीका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडे, लुम्वीनी प्रदेशका वन मन्त्री एवं कांग्रेस नेता देबकरण प्रसाद जयसवाल( सन्तु), समानुपातिक तर्फकी उम्मेदवार तथा महासमिति सदस्य सुनिता सुबेदी श्रेष्ठ, महासमिति सदस्य गुणनिधि तिवारी, अनिल शर्मा, जिल्ला कोषाध्यक्ष उत्तमा राय,महाधिबेशन प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति माधब प्रासद पाण्डे, महाधिबेश प्रतिनिधि कृष्णप्रसाद घिमिरे, सुस्ता गाउपालिकाका पार्टी सभापति रबिन्द्र प्रसाद जैसवाल, क्षेत्रीय प्रतिनिधिहरु, वडा सभापतिहरु समेत ४३ जनालाई कारबाहि गर्न माग गरिएको छ ।

गत फागुन २१ निर्वाचनका दिन चौधरी हार्ने निधो भएपछि जिल्लाका २२ जना माथिल्लो तहका नेतालाई पार्टीले कारबाहि गरेको बिज्ञप्ती किकालेको थियो । दुबै पटक कांग्रेस नेताहरुलाई कारबाही गराउनमा कांग्रेसवाट क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा उम्मेदवार रहेर पराजय भोगेका बिनोद चौधरीको हात रहेको कांग्रेस बृत्तमा चर्चा छ ।

क्षेत्र नम्बर १ मा उद्योगपति बिनोद चौधरीले दोश्रो पटक प्रतिनिधि सभा सदस्यको टिकट पाएपछि त्यहि क्षेत्रका कांग्रेस नेता बिक्रम खनाल रास्वपा प्रबेश गरेपछि जिल्ला तहका सबै जसो नेताहरुले कांग्रेस छोडेर स्वतन्त्र भएको घोषणा गरेका थिए ।

निर्वाचनका समयमा कांग्रेसमै रहेका नेताहरुले पनि भित्र भित्र बिक्रमलाई सहयोग गरेपछि चौधरी करिब ३६ हजार मतान्तरले खनालसँग पराजित भएका थिए । पूर्वी र पश्चिम नवलपरासीका सबै ४ क्षेत्रमा यस पटक रास्वपाका उम्मेदवार निर्वाचित भएका छन ।