नवलपुर, चैत ५ गते । नवलपुरमा सञ्चालन भइरहेको जापनिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियान अन्तर्गत हालसम्म ८८ हजार २६५ जना (५८.८४ प्रतिशत)ले खोप लगाएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चैत २९ गतेदेखि हालसम्म ५१ हजार ९३४ महिला र ३६ हजार ३३१ जना पुरुषले यो खोप लगाएका हुन् ।
चैत ९ गतेसम्म खोप लगाउने अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । जिल्लाका सबै आठवटै पालिकामा एक साथ सञ्चलन गरिएको अभियानमा उल्लेख्य सहभागिता रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख डा केशव चापागाईले बताए । ‘‘जिल्लाभर प्रभावकारी रुपमा खोप अभियान सञ्चालन भइरहेको छ, चापागाईले भने, ‘‘स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको छ ।’’
उनका अनुसार जिल्लामा ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी एक लाख १५ हजारलाई खोप लगउने लक्ष्य राखिएको छ । यो उमेर समूहमा जिल्लामा एक लाख ४५ हजार जनसंख्या भए पनि केही लगाउन नमिल्ने र केही देश बाहिर रहेकाले एकलाख १५ हजारलाई लगाए लक्ष्य पुरा हुने डा चापागाईको भनाइ छ ।
देशभरमै नवलपुरमा जापानिज इन्सेफलाइटिसको संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी निःशुल्क खोप अभियान संचालन भइरहेको हो । जिल्लामा हालसम्म ३८ जनालाई यो संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भइसकेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमै १४ जनामा संक्रमण देखिदा ६ जनाको मृत्यु भइसकेको छ ।
जापानिज इन्सेफलाइटिस इन्फ्लून्जा संक्रमण भएको हाँस, चराचुरुंगी, संगुर, बुंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्ने चिकित्सकहरुको भनाइ छ ।









