नवलपुर, चैत ४ गते । देशभर ग्यासको अभाव गरिएका समाचारहरु बाहिर आउन थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
हिजो गैँडाकोट र देवचुली नगरपालिकामा अनुगमन गरेको प्रशासनको टोलीले आज बुधबार कावासोती र मध्यविन्दु नगरपालिकामा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ज्योति अर्यालले जानकारी दिनुभयो ।
उहाँले चारवटै नगरपालिका भित्र रहेका ग्यास उद्योग र सपलायर्सहरुमा अनुगमन गरिएको बताउनुभयो । अनुगमनमा कालोबजारी नदेखिएको र मध्यविन्दु नगरपालिका बाहेकमा ग्यासको अभाव नभएको अर्यालले बताउनुभयो ।
मध्यविन्दुमा भने ठुला सप्लायर्स नहुँदा केही समस्या भएको देखिएको अर्यालले बताउनुभयो । ग्यासको अभाव हुने ठानी ग्राहकहरु आत्तिएर धेरै तिरबाट ग्याँसका सिलिण्डर खरिद गर्न खोज्नेहरुका कारण केही समस्या भएपनि व्यवस्थापन गर्ने गरेको सप्लायर्सहरुले बताएका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी ग्यासको कृतिम अभाव नगराउन अपिल गरेको छ । कृत्रिम अभाव गराएको पाइए कारवाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको छ ।
होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना सहितको टोलीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै बजारमा ग्यासको कृत्रिम अभाव गराइएको भन्दै त्यसलाई रोक्न माग गरेको थियो ।
अमेरिका, इरान युद्धपछि नेपालमा ग्याँसको अभाव हुन नदिन सरकारले आधा सिलिण्डर ग्याँस आधा मूल्यमा बजार पठाउने निर्णय गरेको छ । सोहीअनुसार बजारमा आधा सिलिण्डर वितरण गर्ने गरिएको छ ।









