काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको धौवादी फलाम खानी उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा धौवादी फलाम कम्पनी लिमिटेडले नवलपुरमा ड्रिलिङ तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ । आगामी एक सय वर्षका लागि पुुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने कम्पनीले जानकारी गराएको छ । नियमित प्रक्रियाबाट २०८५ साल भित्रमा फलाम/स्टिल उत्पादन गर्न सकिने कम्पनीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम/स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिएका छन् । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने उनले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्ने बताउनु भएको थियो । शुक्रबार ग्वार्को ओभरपास उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले छिट्टै नवलपुरमा रहेको धौवादी फलाम कारखाना सञ्चालनमा ल्याइने बताएका हुन् ।
‘हामी धौवादी फलाम कारखाना अघि बढाउँदैछौँ । धौवादी फलाम कारखाना सम्पन्न हुनेबित्तिकै हामीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम, स्टिल आदि कारखानाहरु यहाँ स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ । वार्षिक ठूलो आम्दानी त्यहाँबाट हुनेछ । धेरैले रोजगारी नेपालभित्र पाउनेछन् । अरु खनिजको उत्खनन हुन्छ,’ ओलीले भने ।
खानी तथा भूगर्भ विभागका विज्ञहरुले २०६९ देखि २०७५ सम्म विभिन्न समयमा धौवादीमा ड्रिलिङ गरेर नमुना संकलन गरी परीक्षण गर्दा फलामखानी रहेको यकिन भएको थियो । उद्योग मन्त्रालयले २०७६ असोजमा धौवादी फलामखानी कम्पनी लिमिटेड गठन गरेर काम अघि बढाएको थियो ।
कम्पनीले नै गरेको एक अध्ययनअनुसार नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्छ । धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलामखानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । मुलुकमै फलाम उत्पादन भए अहिले भइरहेको आयातको एक चौथाइ फलाम आयातलाई कम गर्न सकिने कम्पनीको अनुमान छ ।









