कावासोती, असार २७ गते । नवलपुरको मध्यविन्दु नगरपालिकामा किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गरी पुनः प्रयोग गर्न सकीने प्याड बनाउने तालिम दिइएको छ ।
मध्यविन्दु नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका ३० जना साथी शिक्षकहरुलाई सो तालिम सञ्चालन गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत राधादेवी बोटेले बताइन् ।
किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत छनौट भएका किशोरीहरुलाई विभिन्न विषयहरुमा विभिन्न चरणहरुको तालिम प्रदान गरी विद्यार्थीहरु मार्फत विद्यालय र समुदायस्तरमा उनीहरुले लिएका तालिमको विषयमा सिकाउने र छलफल गर्ने साथीबाट साथी अवधारणाका साथ विगत १ वर्षदेखी मध्यविन्दुमा सञ्चालन गरिरहेको संस्थाका महासचिव दिपक शर्माले बताए ।
उनीहरुले आत्म सुरक्षा, नेतृत्व विकास, हिंसा, शोषण र दुब्र्यवहारबाट बच्ने उपायहरु, बाल अधिकार, किशोरी अधिकार, द्वन्दको समाधान सम्बन्धी जीवनउपयोगी सिपका तालिमहरु सञ्चालन गरेको उनले बताए ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका परिवार योजना तथा किशोरकिशोरी स्वास्थ्य कार्यक्रमको फोकल पर्सन सागर पराजुलीले यौन तथा प्रजनन स्वास्थ्य, पोषण, महिनावारी सरसफाई तथा स्वच्छताको बारेमा सहजिकरण गरेका थिए ।
किशोरी अभियन्ता आशा विकले सेनेटरी प्याडको महत्व र यसको प्रयोगको विधीको बारेमा जानकारी दिँदै बजारीया प्याडको फाईदा र बेफाईदा सँगै पुन प्रयोग योग्य प्याडको फाईदा र बेफाईदाको बारेमा सहजिकरण गरेकी थिइन् ।
साथै उनले घरमा नै सफा कपडाहरुको प्रयोग गरी निर्माण गर्न सकीने प्याडको निर्माणको विधीहरु र तरिकाहरु सिकाएकी थिइन् ।
कार्यक्रमको उद्घाटन समारोहमा नगर प्रमुख भिमलाल अधिकारीले किशोरीहरुको शसक्तिकरणको लागि यो तालिम फलदायी रहेको र कुनै पनि हिसावले किशोरीहरु कमजोर रहेको नसोची आफु र आफ्नो विकासको लागि लाग्न अनुरोध गरे ।