बोमलाल गिरी
नवलपुर, असार २९ गते । चार बजेपछि स्कुल बिदा भएको जनाउ घण्टी बज्यो । सबै विद्यार्थी कक्षा कोठाबाट बाहिरिए । कोही बसमा चढे, कोही साइकल चलाएर त कोही हिँड्दै घर तिर लागे । तर कक्षा ११ र १२ मा पढ्नेहरू विद्यार्थीहरु भने जुत्ता खोलेर स्कुल ड्रेसमै खेत तिर लागे ।
नवलपुरको मध्यविन्दु नगरपालिका–९ बसन्तपुरमा रहेको लोकसेवा माध्यामिक विद्यालयले खेती गर्नका लागि ८ कट्ठा जमिन लिजमा लिएको छ । बिहीबारको दिन त्यही खेतमा रोपाई गर्ने मौसम जुरेको थियो । त्यसैले सबै जना खुशी हुँदै रोपाई गर्न खेत तिर लागे ।
छात्रहरूले विउ पुर्याउने र बाउसे गरे भने छात्राहरु कोही विउ उखेल्न र कोही धान रोप्न थाले । अहिलेका यो उमेरका धेरैजसो विद्यार्थी खेतको काम गर्न जान्दैनन् अर्थात रुचाउँदैनन् । तर स्कुलको खेतमा भने उनीहरु रमाई रमाई काम गरिरहेका थिए ।
‘‘सबैले सामुहिक रुपमा काम गर्दा जाँगर चल्छ, नजानेकाले पनि काम गर्न सिक्छन्, अनि पैसा पनि हुने र प्राक्टिकल पनि हुने भएकाले विद्यार्थी यस्तो काम गर्न निक्कै रचाउँछन्,’’ विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीले भने ।
कक्षा ११ मा अध्ययनरत शान्ति परियारले यस्ता कामले सिकाइका साथसाथै प्रोजेक्ट वर्कको पनि काम गर्ने भएकाले धेरै फाइदाजनक भएको बताइन् । ‘‘यही काम घरमा बाबा आमाले अह्राउँदा गर्न मन लाग्दैन त्यसैले काम गर्न पनि आउँदैन,’’ परियारले भनिन्, ‘‘तर स्कुलमा सर मिसहरूले भन्दा गरिन्छ, त्यसले एउटा त हाम्रो लागि सिकाइ हुन्छ भने प्रोजेक्ट वर्कको काम पनि हुन्छ, साथसाथै ज्याला पनि आउने र त्यो ज्याला विद्यार्थीकै कोषमा जम्मा हुने भएकाले धेरै फाइदाजनक हुँदो रहेछ ।’’
विद्यालयले यो बारीमा मौसमी तरकारी र अन्न उत्पादन गर्दै आएको छ । यसअघि बारीमा आलु, घिरौला, लौका, करेला, खुर्सानी, गोलभेँडा जस्ता तरकारी लगाएको थियो । ‘‘यही बारीमा हामी आफैले उत्पादन गरेको आलु मध्यविन्दु रैथाने कृषि महोत्सवमा लगेर स्टल नै राखेर बेचि ३०÷४० हजार कमाएका थियौं,’’ कक्षा १० मा अध्ययनरत बाल इको क्लवका अध्यक्ष सोम बहादुर बिकले भने । बारीमा काम गर्नका लागि नगरपालिकाको कृषि शाखाले पनि सहयोग गर्ने, सिकाउने काम गरिरहेको बिकले बताए ।
प्रधानाध्यापक भण्डारीका अनुसार बारीमा उत्पादन भएको तरकारी शिक्षक, अभिभावक र छिमेकीलाई सस्तो मूल्यमा बेचिन्छ भने बढी भएको तरकारी बजारमा लगेर पनि बेच्ने गरिएको छ । त्यस्तै विद्यालयको दिवा खाजा कार्यक्रमका लागि पनि आफैले उत्पादन गरेको अन्न र तरकारी प्रयोग गर्ने गरिएको भण्डारीले बताए ।
तरकारी र अन्न बेचेर आएको रकम विद्यार्थी कोषमै जम्मा गर्ने गरिएको छ । ‘‘इको क्लवका विद्यार्थीहरुको आफ्नै बैंक खाता छ, बचत रकम त्यही खातामा जम्मा गछौं,’’ प्रअ भण्डारीले भने, ‘‘विद्यालय समयपछि काम गर्नेहरुलाई ज्याला पनि दिन्छौं, यसले विद्यार्थीहरुको प्राक्टिकल नम्बरमा पनि सहयोग गर्छ भने विद्यार्थीलाई व्यवहारिक पनि बनाउँछ ।’’
कृषि संस्कृतिसँग विद्यार्थीहरूलाई जोड्ने र गाउँघरको परम्परा जगेर्ना गर्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रम गर्दै आएको छ । रमाइलो वातावरणमा आयोजित यस्ता कार्यमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिने गरेको छ । यस्तो प्रयासले यहाँका बालबालिकामा कृषि पेशाप्रति सकारात्मक सोच विकास गरिरहेको विद्यालयको बुझाइ छ ।
विद्यालय प्रशासनले विद्यार्थीहरूमा श्रमको महत्व, प्रकृति प्रतिको प्रेम र ग्रामीण जीवनशैलीप्रति आकर्षण बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रअ भण्डारीको भनाइ छ ।