नवलपुर, साउन ४ गते । नवलपुरमा सर्पदंशका विरामीको संख्या बढिरहेको छ । शनिवार एकै दिन सर्पले डसेर तीन जना बिरामी परेका छन् । प्रजाति नखुलेको सर्पले घरमै आएर डस्दा विनयी त्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरेका ८ वर्षीया देवीका मगर बिरामी भएकी छिन् ।
विनयी त्रिवेणी–४ सर्दीका अमृता दर्लामीलाई पनि घरमै छिरेर प्रजाती नखुलेको सर्पले डसेर विरामी बनाएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी–१ का २२ वर्षीया सिता गाहालाई कुवामा पानी लिन जाँदा सर्पले डसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
सर्पले डसेर बिरामी परेका सबैको प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको नेपालले जानकारी दिए । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यका अनुसार अस्पतालमा दैनिक पाँच÷छ जनासम्म सर्पदंशका विरामी आउने गरेका छन् ।
सर्पले डसेर गम्भीर भएकाहरलाई थप उपचारका लागि चितवन रेफर गर्ने गरेको र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमै उपचार गर्ने गरेको उनले बताए । बैशाखदेखि असोजसम्म सर्प बाहिर निस्कने र डस्ने समस्या बढी हुने भएकाले सतर्क हुन उनको सुझाव छ ।
सर्पले डसिहालेमा के गर्ने ?
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यका अनुसान सर्पले डसिहालेमा बिरामलिाई स्थिर बनाउँदै आश्वासन दिनुपर्छ । प्रभावित अंगलाई नचलाई स्थिर राख्नुुपर्छ । सर्पको विष शरीरका अन्य भागमा सर्न नदिन टोकेको ठाउँभन्दा अलिकति माथि काम्रोले बाँध्नुपर्छ । हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो सर्ने भएकाले हिँडडुल गर्ने, दौडने गर्नुहुँदैन ।
छिटो अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल पनि चलाउनु हुँदैन । अरु कसैको सहारामा बिरामलिाई छिटोभन्दा छिटो अस्पताल पुर्याउन्ु पर्छ । त्यस्तै डा. आचार्यका अनुसार सर्पले डसेको आशंकामा पानी पिउनु र पिलाउनु हुँदैन । पानी पिउँदा पानीको सहायतामा विष शरीरका विभिन्न भागमा छिटो पुग्छ । टोकेको ठाँउमा सुन्निनु अघि औंठी, घडी, टाइट लुगाहरू फुकाल्नुपर्छ ।
यो पनि पढ्नुहोस्